| सोमवार, कार्तिक २३, २०८३

रबर उद्योगले पुनः टायर उत्पादन गर्न पाओस्

गोरखकाली रबर उद्योगको नाम नसुन्ने सायदै होलान् । तर उद्योग संचालन भएको देख्नेहरु भने कमै भेटिन्छन् । उद्योगको अहिलेको अवस्था हेर्दा कुनै समय यो उद्योगले गोरखालाई गुल्जार बनाएको थियो भन्दा कथा जस्तो लाग्छ ।

उद्योग सञ्चालन हुँदा के थिएन, यहाँ । देशकै नामुद र विदेशसम्म टायर बिक्री गर्न सक्ने क्षमता र राम्रै आम्दानी थियो । प्रत्यक्ष रुपमा २–३ सय जनाले रोजगारी पाएका थिए । स्थानीय नागरिकका तरकारी बिकेका थिए । घर भाडामा लागेका थिए । छोराछोरीले राम्रा स्कुलमा पढ्न पाएका थिए । किनारा पसल गर्नेको कमाइले पनि घर–जग्गा जोड्नेहरु थिए । तर त्यही उद्योग अहिले भग्नावशेषमा परिणत भएको छ । संचालनको पर्खाइमा बसिरहेको छ ।

उद्योग संचालनको नारा हरेक चुनावी एजेण्डामा गुन्जिन्छ । उद्योग संचालनको नारालाई यति सस्तो बनाइयो की स्थानीय तह निर्वाचनमा समेत यही चुनावी नारा लिएर घरघर भोट माग्न उमेदवार पुगे । यही एजेण्डा सुनाएर चुनाव जित्नेहरु प्रधानमन्त्री समेत बने तर उद्योगले पुनः टायर उत्पादन गर्ने मौका पाएन । चुनाव जितेर गएसँगै नेताहरुले एजेण्डा पनि बिर्सिए ।

यो पटकको चुनावमा पनि रबर उद्योग संचालनको नाराले स्थान पायो । यो क्षेत्रबाट चुनाव जितेर गएकाहरुले अव यो एजेण्डा नबिर्सिउन् । उद्योग संचालनका लागि सुझावसहितको प्रतिवेदन समेत सरकारसमक्ष पेश भइसकेको छ । सोही सुझावलाई मनन गर्दै उद्योग संचालनका लागि सरकारले तदरुपता देखाउनुपर्छ ।

उद्योग पुनः संचालन भएमा स्थानीयलाई रोजगारीको अवसर मात्र होइन आर्थिक उपार्जनमा पनि सहयोग पुग्छ । व्यापार व्यवसाय फष्टाउछ । बजार चलायमान हुन्छ । समग्र जिल्लालाई नै गुल्जार बनाउँछ । जिल्लामात्र होइन देशकै अर्थतन्त्रलाई पनि चलायमान बनाउन यो कोसेढुंगा सावित हुनेमा कुनै दुइ मत छैन । त्यसैले उद्योग संचालनका लागि पहल कदमी चाल्न अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्