
पन्थडिही–साहिलटार सडक धमाधम कालोपत्रे हुँदै
गोरखा र लम्जुङ जोड्ने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रेको कामले तिव्रता पाएको छ । कुल २० किलोमिटर सडकमध्ये १५ किमि सडक कालोपत्रे भइसकेको छ । बाँकीमा बेस राख्ने काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
कार्यालयका अनुसार सडक स्तरोन्नतीका लागि २०७९ सालमा उडहिल/लामा जेभीसँग ठेक्का सम्झौता भएको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिलन्यास गराएर सडक स्तरोन्नतीको काम अघि बढाइएको थियो । योजनाको हालसम्म करिव ९० प्रतिशत भौतिक प्रगति रहेको कार्यालयका इन्जिनियर आशिक रिजालले बताए ।
‘गत भदौ महिनामै काम सम्पन्न गर्ने लक्ष्य थियो,’ उनले भने, ‘नसकेपछि आगामी असार ७ गतेसम्म म्याद थप भएको छ ।’ योजनाको कुल लागत १ अर्ब ५ करोड ४७ लाख रहेको उनले जानकारी दिए । योजना अन्तरगत सडक चौडासँगै नाला र टेवा पर्खाल निर्माण गरिएको छ । डिविएसटी प्रविधिबाट सडक कालोपत्रे भएको कार्यालयले जनाएको छ । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा काम भएको हो ।
उक्त सडकबाट गोरखा र लम्जुङ गरी कुल पाँच वटा पालिकाका स्थानीय बढी लाभान्वित हुने छन् । गोरखाको पालुङटार नगरपालिका (खोप्लाङ, आँपपिपल), सिरानचोक (हर्मी, थालाजुङ, छोप्राक) र अजिरकोट गाउँपालिका (हंसपुर, खरिबोट) एवं लम्जुङको राइनास नगरपालिका (चक्रतीर्थ) र दुधपोखरी गाउँपालिका (इलम पोखरी, दुधपोखरी) का स्थानीय बढी लाभान्वित हुने बताइएको छ ।
२०६५ सालमा उक्त सडकको ट्रयाक खुलेको हो । स्तरोन्नतीका लागि यसअघिका प्रयास असफल हुदै आएका थिए । अहिले भने काम करिव अन्तिम चरणमा पुगेको छ । सडक स्तरोन्नती भएसँगै बाह्रै महिना सवारी आवागमन सहज हुने र स्थानीयको दैनिकी फेरिने अपेक्षा गरिएको छ ।




