
अब इण्डोस्कोपी सेवा पनि गोरखा अस्पतालमै,ओपिडी सेवा बिहान ८ बजेदेखि
इण्डोस्कोपी सेवा लिन अब चितवन, काठमाडौं वा अन्य ठूला सहर धाउनु नपर्ने भएको छ । प्रदेश अस्पताल गोरखाले सोमबारबाट इन्डोस्कोपी सेवा सुरु गरेपछि बिरामीले महंगो खर्च गरी ठूला सहरतिर धाउनु नपर्ने भएको हो । विशेष गरी पेटको घाउ हेर्ने, जाँच गर्ने तथा उपचार गर्न मिल्ने इन्डोस्कोपी सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताए ।
ढकालका अनुसार अस्पलालले आइतबार इन्डोस्कोपी प्रणली लागु गरेको र सोमबारबाट औपचारिक रुपमा सेवा दिन सुरु गरेको हो । ‘गोरखा अस्पतालमा इन्डोस्कोपी सेवा नहुँदा बिरामीहरु चितवन, काठमाडौँ जान बाध्य थिए । अस्पतालमा नै यो सेवा सुरु गरेसँगै जिल्लाबासीलाई धेरै राहत मिल्ने हाम्रो विश्वास छ’, उनले भने । अस्पतालले सोमबाट बाटै लागु हुने गरी बिहान ८ बजेबाट ओपीडि सेवा सुरु गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
टाढा–टाढाबाट आउने बिरामीहरुलाई मध्येनजर गरेर बिहान १० बजेबाट सुरु हुने जनरल ओपिडि आठ बजेबाटै खुल्ला गर्ने निर्णय लिएको उनी बताउँछन् । उनी भन्छन, ‘गाउँ गाउँबाट बिरामीहरु आउनुहुन्छ । दिउँसो २–३ बजे उहाँहरुको बस छुट्दा समेत अस्पतालको लाइनमै बसिराख्नु पर्ने समस्या देखेका छौँ । १० बजे ओपिडि खुला हुँदा अस्पतालमा एकैचोटी बिरामीहरुको धुँइचो नै लाग्ने गरेको छ । भिड कम गर्न र बिरामीहरुलाई केही राहत होस् भनेर दुई घण्टा अगाडीबाटै ओपिडि खुल्ला गर्ने निर्णय गरेका हौँ ।’
साथै, अस्पतालले आफ्नो फार्मेसी सेवा बिस्तार गरेर भर्ना भएका बिरामीहरुका लागी छुट्टै फार्मेसी संचालन गर्ने तयारीमा छ । यसैगरी, ल्याव बिस्तारको तयारीमा रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्ण ढकालले बताए । गोरखा अस्पतालले क्यान्सर, क्षयरोग लगायतको स्क्रिनिङ गर्न सकिने अत्याधुनिक ल्याव संचालनमा ल्याउन लागेको हो । केही समयभित्रै ल्याव बिस्तार गर्ने तयारी रहेको अध्यक्ष ढकालको भनाई छ ।




