
व्यापारी व्यवसायी जुटेर फिलिम गाउँमा मोटरबाटो जोडे
चुमनुब्री गाउँपालिका ३ फिलिमका व्यवसायीहरु जुटेर गाउँसम्म मोटरबाटो निर्माण गरेका छन् । बूढीगण्डकी पारि नाग्चेत हुँदै पाङ्सिङसम्म दुईबर्षअघि नै सडक पुगेपनि आफ्नो गाउँ सडक सञ्जालले नजोडेपछि व्यवसायीहरु मिलेर सडक निर्माण गरेका वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।
फिलिममा गाउँ सो गाउँपालिकाको केन्द्र रहेको ठाउँ हो । जगत, सल्लेरी, नाग्चेत, पाङसिङसम्म मोटरबाटो पुगे पनि गण्डकी पारि रहेको गाउँपालिकाको केन्द्र फिलिममा सडक सञ्जाल पुगेको थिएन । ‘गाउँपालिकाको केन्द्र रहेको ठाउँसम्म मोटरबाटो नपुगेपछि त्यहाँका व्यवसायीहरु एकजुट भएर आफ्नै खर्चले मोटरबाटो जोडेका हुन्’, वडाअध्यक्ष गुरुङले भने, ‘ब्यापारी, व्यवसायीहरुले गाउँसम्म मोटर लैजान बूढीगण्डकीमा ह्यूम पाइप राखेर गाडी तर्न सक्ने अस्थायी फुल पनि बनाएका छन् ।’
फिलिम बजार व्यवस्थापन समितिको व्यवस्थापनमा करिब दुई किलोमिटर मोटरबाटो निर्माण गरिएको उनले बताए । तीन दिनअघि फिलिमसम्म सडक पुगेको उनले बताए । गाउँसम्म सडक सञ्जालले जोडेपछि विशेषगरी खाद्यान्न लगायतका सरसामान ढुवानीमा सस्तो र सजिलो भएको गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी स्थानीयबासी कुमारी गुरुङको भनाइ छ ।
‘सडक सञ्जालले जोडेपछि अब गाउँसम्म जीप, फोरह्वील ट्रक, मोटरसाइकल, ट्याक्टर आउँछ’, उनले भनिन्, ‘सबैभन्दा ठूलो फाइदा त अब गाउँसम्म गाडीले नै खाद्यान्न लगायतका सरसामान ढुवानी गर्न सकिने भयो । अनि बिरामीलाई एम्बुलेन्समा बोक्न सकिने भयो ।’ तर घाम बूढीगण्डकीमा पानीको प्रवाह बढेपछि गाउँ पुन यातायात बिच्छेद हुने उनले बताइन् ।
‘घाम चर्के पनि हिउँ पग्लेर गण्डकी बढ्छ । पानी परे पनि गण्डकी बढ्छ’, उनले भनिन्, ‘गण्डकी बढेपछि त ह्यूम पाइप राखेर बनाएको अस्थायी पुल लगिहाल्छ ।’ घाम चर्के पनि सुख नपाइने, पानी परे पनि सुख नपाइने उनको भनाइ छ ।
फिलिमलाई सडक सञ्जालले जोडेपछि बजारभित्र पनि सडक विस्तार गरिएको उनले बताइन् ।




