| शुक्रबार, बैशाख १७, २०८३

गोरखाका १७ विद्यालयबाट १० भन्दा कम परीक्षार्थीहरुले एसईई दिँदै

प्रतीक्षा आले ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका १७ वटा विद्यालयबाट १० भन्दा कम परीक्षार्थीहरु सहभागी हुँदै छन् । एसईईमा जिल्लाभरका १३५ वटा माध्यमिक विद्यालयहरुबाट दुईहजार ९७२ जना परीक्षार्थीहरु सहभागी हुँदै छन् । ग्रेडबृद्धितर्फको परीक्षामा भने ८२५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।

१३५ विद्यालयमध्ये १७ वटा विद्यालयबाट १० भन्दा कम परीक्षार्थीहरु रहेको कार्यालयको भनाई छ । जसमध्ये नीजि एक र बाँकी सामुदायिक विद्यालय रहेका छन् । केही विद्यालयहरुमा जम्मा दुईजना परीक्षार्थी रहेको कार्यालयका शाखा अधिकृत विश्वप्रकास रेग्मी बताउँछन् । उनका अनुसार परीक्षार्थी सङ्ख्या १० रहेका चार विद्यालयहरु छन् । बसाइँसराईका कारण जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङख्या कम भएको उनले जानकारी दिए ।

‘विद्यार्थीहरु सुविधाका लागि बजार क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण क्षेत्रबाट एसईई दिने परीक्षार्थीहरुको सङ्ख्या कम भएको हो’, रेग्मीले भने, ‘विगत केही वर्ष यता जिल्लाको एसईई नतिजा राम्रो नआएपछि कक्षा ९ मा कमजोर विद्यार्थीहरुलाई रोकिएका छन् । त्यसैले पनि यो सङख्यालाई केही प्रभाव पारेको छ ।’

यस वर्ष पालुङ्टार नगरपालिकाको शारदा मावि खोप्लाङले एसईई परीक्षामा सहभागिता नजनाएको शिक्षा अधिकृत विश्वप्रकास रेग्मीले बताए । शारदा माविबाट एसईई परीक्षा दिने विद्यार्थी नै नभएपछि विद्यालयले एसईईमा सहभागिता जनाउन नसकेको हो । ग्रेडबृद्धिको परीक्षा दिने परीक्षार्थी समेत समावेश गराउने हो भने जिल्लामा कक्षा १० मा १० भन्दा कम विद्यार्थी रहेको विद्यालय सङख्या ६ रहेको छ ।

जसमध्ये नीजि विद्यालय एक र बाँकी ५ वटा सामुदायिक विद्यालय रहेका छन् । जिल्लाका निजी विद्यालयतर्फ द वल्ड क्यापिटल माविबाट सबैभन्दा धेरै १०८ जना र सामुदायिकतर्फ भवानी मावि मान्बुबाट सबैभन्दा धेरै ८५ जना यसबर्षको एसईई परीक्षामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्