| सोमवार, कार्तिक २३, २०८३

लक्ष्मीबजारमा एआई प्रविधिको प्रयोग गरी क्षयरोगीहरुको खोजी


गोरखाको लक्ष्मीबजार आधारभूत स्वास्थ्य केन्द्रमा एआई प्रविधिको एक्स–रे प्रविधिबाट क्षयरोगीहरुको खोजी गरिएको छ । गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोगीको खोजतलास शिविर सञ्चालन गरेको हो ।

बिहिबार सञ्चालित क्षयरोगी खोजपड्ताल शिविरमा २ सय २८ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए । एकसय ७० जना महिला र ६१ जना पुरुषहरुको परीक्षण गरिएकामध्ये एकजनामा क्षयरोगी फेला परेका उनले बताए ।

आठ जनाको एआई प्रविधिबाट एक्स–रे गरी नमुना संकलन गरिएको छ भने आठ जना निको भइसकेका क्षयरोगीको पुनः परीक्षण(फलोअप) गरिएको छ । यसैगरी, क्षयरोग भएका बिरामीको सम्पर्कमा रहेका बाह्र जनाको पनि परीक्षण गरिएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।

प्रदेशको जनस्वास्थ्य निर्देशनालयबाट आएको एआई उपकरणसहितको विशेषज्ञ टोलीले सो प्रविधिको प्रयोग गरी रोगीको खोजबिन गरेको थियो ।

यसअघि गत मंगलबार पालुङ्टार नगरपालिकामा सोही प्रविधिबाट क्षयरोगीको खोजपड्ताल शिविर सञ्चालन गरिएको थियो ।
समयमै क्षयरोगीको पहिचान भएमा प्रभावकारी उपचार हुने विश्वास सरकारले लिएको छ ।

राष्ट्रिय अभियानअन्तर्गत गोरखाका पालुङटार र गोरखा नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) एक्स–रे मेसिनद्वारा क्षयरोगीहरुको खोजपड्ताल कार्यक्रम सञ्चालन भएको हो । गण्डकी प्रदेशका ८५ वटा पालिकामध्य गोरखाका दुई पालिकामा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको हो । क्षयरोगीको खोजपड्ताल गर्न सरकारले देशभरका लागि जम्मा नौवटा एआई एक्स–रे मेसिन ल्याएको छ ।

सातवटा प्रदेशमा सातवटा र राष्ट्रिय क्षयरोगकेन्द्रमा एउटा र कालिमाटीको स्वास्थ्य संस्थामा एउटा एआई उपकरणको व्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्