| सोमवार, कार्तिक २३, २०८३

क्षयरोगमुक्त नेपाल बनाउने अभियानको कोशेढुंगो बनोस्

नेपाल सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने एउटा महत्वाकांक्षी तर पवित्र लक्ष्य निर्धारण गरेको छ । यसै महान् लक्ष्यलाई पछ्याउँदै गोरखा जिल्लाका गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा विगत दुई वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्स–रे मेसिनको प्रयोग गरी क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन हुनु आफैँमा एउटा सुखद र आशालाग्दो कदम हो ।

कुनै समय क्षयरोगलाई समाजमा एउटा असाध्यु र डरलाग्दो रोगका रूपमा हेरिन्थ्यो । चेतनाको अभाव र उपचारमा सहज पहुँच नहुँदा धेरैले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । तर, आज विज्ञान र प्रविधिले स्वास्थ्य क्षेत्रमा ल्याएको क्रान्तिले यसलाई निको हुने मात्र होइन, पूर्ण रूपमा उन्मूलन नै गर्न सकिने बनाएको छ । गोरखामा प्रयोग गरिएको एआई प्रविधिले मानिसको फोक्सोको एक्स–रेलाई मिहिन ढंगले विश्लेषण गरी क्षयरोगको शंकास्पद अवस्थालाई तत्काल पहिचान गर्न मद्दत पु¥याउँछ, जसले गर्दा समयमै उपचार सुरु गर्न र समुदायमा संक्रमण फैलनबाट रोक्न सकिन्छ ।

परम्परागत विधिभन्दा छिटो र सटिक नतिजा दिने एआई मेसिनको प्रयोग, घरदैलो र टोलटोलमा पुगेर रोगीको खोजपड्ताल गर्ने सक्रियता, पहिचान भएका रोगीहरूलाई पालिकाको प्रत्यक्ष निगरानीमा निःशुल्क र गुणस्तरीय उपचारजस्ता कार्यक्रमले यो अभियानलाई साकार बनाउन सक्छ ।

त्यस्तै सरकारको सन् २०५० सम्मको लक्ष्य प्राप्त गर्न केवल गोरखाका दुई नगरपालिका मात्र तातेर पुग्दैन । जिल्लाका सबै ११ वटा पालिका र देशभरका ७५३ वटै स्थानीय तहले यसरी नै प्रविधिलाई आत्मसात गर्दै सक्रिय खोजपड्तालमा जोड दिनु आवश्यक छ । रोग लुकाउने प्रवृत्ति अझै पनि केही समुदायमा विद्यमान छ, जसलाई चिर्न व्यापक जनचेतना र स्थानीय जनप्रतिनिधिको सक्रियता अनिवार्य देखिन्छ ।

प्रविधिको उच्चतम् प्रयोग गर्दै सुरु गरिएको यो क्षयरोगमुक्त नेपाल निर्माणको आधारशिला बन्नुपर्छ । सरकारी लक्ष्य कागजमा मात्र सीमित नभई व्यवहारमा उतार्न स्थानीय तहको यो जागरुकता अन्य क्षेत्रका लागि पनि प्रेरणाको स्रोत बनोस् ।

प्रतिक्रिया दिनुहोस्