
अकलाका शिक्षक र विद्यार्थी झुसिल्किराले हैरान
यतिबेला बारपाक सुलिकोट गाउँपालिका ३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक विद्यार्थी झुसिल्किराले हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँदिँदा पठनपाठन प्रभावित भएको शिक्षिका पवित्रा तामाङले जानकारी दिइन् ।
विद्यालयको वरिपरि उतिसको जंगल छ । सुख्खा मौसम लागेपछि बिगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न नसक्ने भएको शिक्षिका तामाङको गुनासो छ । ‘भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जंगलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खालि छैन’, उनी भन्छिन्, ‘माघको अन्तिम, फागुनको सुरुदेखि झुसिल्किरा लागेर हामी त कन्याउँदैको हैरान छौँ । ज्यानभरि डाबर उठेको छ । एलर्जीको औषधी पनि कति पो खाइसकियो । रातभरि कन्याएर सुत्न पनि सकिँदैन । विद्यार्थी केटाकेटीको उस्तै बिजोग छ ।’ झुसिल्किराको झुस बिझेर बालबालिकाले ज्यानभरि तेल घसेर आउने गरेका उनी बताउँछिन् ।
कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किराले ढाकेपछि कक्षाकोठाबाट हटाइएको उनको भनाइ छ । विद्यार्थीहरुलाई लाइब्रेरीमा लगेर राखिएको उनले बताइन् । ‘हावाहुरी चल्न थालेपछि झुस उँडाएर आँखामा पर्ने डरले सबको अबस्था बिचल्ली भएको छ’, उनी भन्छिन्, ‘हामीले त समस्या समाधान गरिदिन शिक्षा शाखा र गाउँपालिकाका जनप्रतिनिधिसम्म पनि गुनासो गरेका थियौँ । विषादी प्रयोग गर्न पनि हुँदैन भन्नुभयो । अबस्था उस्तै छ ।’
विद्यालयको समस्या बारे गत फागुनको २६ गते बसेको कार्यपालिका बैठकमा कुरा राखेको वडाअध्यक्ष बलबहादुर गुरुङ बताउँछन् । ‘हामीले वरिपरिको रुख ढालेर समस्या समाधान हुन्छ कि भन्ने सोचेर तीनवटा रुख ढाल्यौं तर त्यसो गर्दा जंगलको झुसिल्किरा झन विद्यालयमा आउँदो रहेछ’, वडाअध्यक्ष गुरुङले भने, ‘समस्या घट्ला भन्दा झन बढ्यो । गाउँपालिकाले पनि विषादी प्रयोग गर्नुहुन्न भनेर प्रयोग गर्न दिएन ।’ समस्या ज्यूँकात्यूँ रहेको उनले बताए । केहीदिनयता पानी परेकाले झुस उँड्ने समस्या भने केही कम भएको शिक्षिका तामाङको भनाइ छ ।




