| बुधबार, चैत्र १०, २०८२

लालीगुराँस टिप्नेलाई कारबाही हुने

लालीगुराँस फुल्ने सिजन सुरु भएसँगै गोरखाको भच्चेक क्षेत्र लालीगुराँसका फुलहरुले ढकमक भएको छ । अजिरकोट गाउँपालिकाको केन्द्रसमेत पर्ने भच्चेक र कालिका मन्दिर परिसरमा सिजनमा राताम्मै फुलेका लालीगुराँस हेर्न आउनेहरुको घुइँचो नै लाग्ने गरेको छ ।

लालीगुराँस हेर्न आउने पर्यटकहरुले जथाभावी फुल टिप्ने, डाला भाँच्ने जस्ता कार्य गरेपछि अजिरकोट गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी त्यसो नगर्न आग्रह गरेको हो । मंगलबार सूचना जारी गर्दै गाउँपालिकाले सिरानडाँडा, भच्चेक र त्यहाँको कालिका मन्दिर परिसरमा रहेका लालीगुराँसका बोटहरुबाट फुल टिप्ने, भाँच्ने गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ ।

‘अजिरकोट गाउँपालिका अन्तरगत पर्ने सिरानडाँडा, भच्चेक र कालिका मन्दिर परिसर तथा क्षेत्रमा रहेका लालीगुराँसका बोटहरुबाट फुल टिप्ने, भाँच्ने गरेको पाइएको छ’, पालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘यदि कोही कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिक कारबाही गरिने हुँदा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।’

मंगलबार नै जिल्लाको सिरानचोक गाउँपालिकाले पनि सूचना निकालेर पालिकाको सिरानचोक कोट, श्रीनाथ मण्डली तथा चित्रेपोखरी आसपासका क्षेत्रहरुमा फुलेको लालीगुराँस नटिप्न आग्रह गरेको छ । सो क्षेत्रहरुमा प्राकृतिक सौन्दर्यतामा असर गर्ने गरी लालीगुराँसका बोटहरुबाट फुल टिप्ने, हाँगा भाँच्ने र नयाँ बिरुवाहरुलाई क्षति पु¥र्याउने कार्य भैरहेको भन्दै गाउँपालिकाले त्यस्तो कार्य रोक्न अनुरोध गरेको हो ।

जथाभावी लालीगुराँसको फुल टिप्दा वा हाँगा भाँच्दा गुराँसको पुनरुत्पादनमा असर पुग्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । उनका अनुसार लालीगुराँसको फुल टिप्नाले बोट सुक्ने र मर्दै जाने समस्या हुन्छ । फुल फुल्ने प्रक्रियामा पनि असर पु¥याउने र फुल नै नफुल्ने समस्या समेत हुने उनले जानकारी दिए ।

उनी भन्छन्, ‘लालीगुराँस टिप्नु हुँदैन, त्यसले गुराँसको समग्र बृद्धि विकासमा असर पु¥याउँछ । स्थानीय तह वा वन उपभोक्ता समितिहरुले लालीगुराँस टिप्नमा रोक लगाउनुपर्छ । नत्र गुराँसको प्रजाती नै मासिने खतरा हुनसक्छ ।’ यसमा स्थानीय सरकारले लिएको अग्रसरताको उनले प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्