
मझुवा–मनकामना सडकको श्रृङ्खलावद्ध दुर्घटनाबाट चेतौं
मझुवा–मनकामना सडकखण्डको कानटार क्षेत्रमा भइरहेका श्रृंखलाबद्ध दुर्घटनाहरू अत्यन्तै हृदयविदारक छन् । एउटै ठाउँमा छोटो समयको अन्तरालमा भएका यी घटनाले सडक सुरक्षा र सवारी व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ । साथै नेपालको पहाडी भूभागको सडक सुरक्षामाथि अन्तर्राष्ट्रिय स्तरमै प्रश्नचिन्ह खडा गरेको छ ।
आस्थाको केन्द्र मनकामना दर्शन गरेर फर्किएका भक्तजनहरू पटक–पटक एउटै भीरबाट खसेर मृत्युको मुखमा पर्नु नियति मात्र होइन, यो गम्भीर लापरवाही र प्राविधिक कमजोरीको उपज पनि हो । मझुवा–मनकामना सडकखण्डको कानटार नजिकैको भीरमा गत वर्ष चितवनको टाँडीबाट आएको इभी माइक्रोबस दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षति सेलाउन नपाउँदै, पुनः सोही ठाउँमा भारतीय पर्यटक बोकेको अर्को इभी दुर्घटनामा पर्नुले हाम्रो सडक सुरक्षा संयन्त्रलाई गिज्याइरहेको छ ।
७ जनाको ज्यान जाने गरी भएको पछिल्लो दुर्घटनाले अब ‘पख र हेर’ को अवस्थालाई अन्त्य गरिदिएको छ । कानटार क्षेत्रको भौगोलिक बनावट आफैँमा चुनौतीपूर्ण छ । लामो ओरालो र कडा घुम्तीहरू रहेको यो सडकमा विशेष गरी रातको समयमा यात्रा गर्नु ‘एम्बुस’ थापेझैँ जोखिमपूर्ण देखिएको छ । ओरालोमा लगातार ब्रेकको प्रयोग गर्दा ब्रेक फेल हुने प्राविधिक समस्या र मोडहरूमा सवारीको हेडलाइटले बाटोलाई पूर्ण रूपमा नभेट्ने कारणले गर्दा दुर्घटना दोहोरिरहेका छन् ।
रातको समयमा कम दृश्यांश र ओरालोको जोखिमका कारण मनकामनाबाट तल झर्ने सवारी साधनहरूलाई निश्चित समयपछि पूर्ण रूपमा रोक लगाउनुपर्छ । ज्यान जोखिममा राखेर गरिने यात्राभन्दा केही घण्टाको पर्खाइ नै बुद्धिमानी हुन्छ । विद्युतीय सवारी साधनको वजन वितरण र ओरालोमा प्रयोग हुने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीबारे चालकहरू पूर्ण रूपमा दक्ष छन् कि छैनन् ? यस्ता प्राविधिक पक्षको सूक्ष्म अध्ययन र पहाडी सडकमा इभी सञ्चालनका लागि छुट्टै मापदण्ड र कडाइ आवश्यक भइसकेको छ ।
दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल बलिया क्र्यास ब्यारियर सडक बत्ती र सवारीलाई गति सीमित गर्न बाध्य पार्ने ट्राफिक संकेतहरू थपिनुपर्छ ।




