| शनिबार, बैशाख १८, २०८३

गोरखाको दुर्घटनामा मृत्यू भएका सात जना भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखामा भएको सवारी दुर्घटनामा मृत्यू भएका सातजना भारतीय भक्तजनहरुको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । आइतबार साँझ पोस्टमार्टम गरिसकेर दूतावासका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरेपछि शव दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शव ग्रहण गरेलगत्तै भारतीय दूतावासको टोली काठमाडौं प्रस्थान गरेको छ । तमिलनाडू राज्यको चेन्नईबाट मनकामना दर्शन गर्न आएका सातजनाको शनिबार बेलुका आठ बजेतिर पूजाआजा सकेर फर्कने क्रममा सहिद लखन गाउँपालिका ३ कानटार नजिकै सवारी दुर्घटनामा परी मृत्यू भएको थियो ।

बाग्मती प्रदेश १–००६ख८४३० नंबरको माइक्रो बस भीरबाट करिब दुईसय मिटर तल खस्दा ५८ बर्षका मुतु कुमार, ५८ बर्षकै अनामलिक, ५९ बर्षीय मीनाक्षी, ५३ बर्षकी शिवगामी, ५७ बर्षीया विजायल, ५८ बर्षकी मिना र ६० बर्षकी तमिलारशीको घटनास्थलमै मृत्यू भएको थियो ।

भारतीय नागरिक १४ र सवारी चालक, सहचालक गरी १६ जना रहेकामध्य नौजना जना घाइते भएका थिए । घाइतेहरु पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन् । आइतबार बेलुकासम्म पाँच जनाको आइसीयूमा उपचार भइरहेको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । चार जनालाई जनरल वार्डमा सारिएको उनले बताए ।

सो इभी माइक्रोबसमा ११ जना महिला र ५ जना पुरुष रहेका थिए । चालकको अवस्था सामान्य छ भने सहचालक सिकिस्त घाइते छन् । मुक्तिनाथको दर्शन सकेर मनकामनाको दर्शन गर्न आएका दुईवटा माइक्रोबसमा सवार २४ जनाभक्तजनहरु मध्य एउटा माइक्रोबस दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्