| आइतवार, कार्तिक २२, २०८३

मध्यपूर्वको युद्धको दुश्प्रभाव गोरखाको भान्सासम्म

विश्वभर ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख बजार मध्यपूर्व केही सातादेखि युद्धको चपेटामा परेपछि त्यसको दुश्प्रभाव नेपालको भान्सामा पर्न थालेको छ । भारत हुँदै नेपालको बजारमा आउने ग्याँसको अपूर्तिमा कमी आउन थालेपछि यहाँको उपभोक्ता तनाबमा छन् ।

अहिले गोरखाका ग्याँस बेच्दै आएका किराना पसलहरुमा ग्याँस किनबेच छैन । बसपार्क र हरमटारीस्थित ग्याँस डिलरहरुको पसलमा ग्राहक खालि सिलिण्डर लिएर लाइन बस्न थालेपछि खुद्रा ग्याँस पसलेले ग्याँस उपलब्ध गराउन नसकेका हुन् ।
आफूहरुले ग्यास बेच्न छाडेको १५ दिन भइसकेको एक पसलेले बताए । ‘छैन नि, हामीले ग्याँस बेच्न नपाएको त १५ दिन भइसक्यो’, हरमटारीस्थित केशी किरानाका प्रोपाइटर राजेन्द्र केशीले भने, ‘आधा सिलिण्डर आउँछ भनेको छ त्यै पनि डिलरले दिनै सकेको छैन ।’

डिलरमा पनि हाल ग्याँस पर्याप्त छैन । आधा सिलिण्डर पनि आउन नसकेको ग्याँस सिलिण्डरका थोक विक्रेता कालिका स्टोर्शका मनकाजी श्रेष्ठ बताउँछन् । ‘उपभोक्ताले ग्याँस कहिले आउँछ भनेर सोधेर हैरान पारिसके । अब त्यही आधा सिलिण्डर ग्याँस भोलिदेखि आउँछ कि ।’

उनले ग्याँसको विकल्प अपनाउन ग्राहकहरुलाई अनुरोध गरेका छन् । ‘ग्याँसको विश्वव्यापी समस्या भएको सबैले देखे, सुनेकै कुरा हो’, उनले भने, ‘अब ग्याँसको सट्टा इण्डक्शन चुल्हो जस्ता विकल्पहरु अपनाउनु वुद्धिमानी हुन्छ ।’ घरघरमा खाना पकाउने ग्याँसको अभाव भएको स्थानीय उपभोक्ताहरु बताउँछन् ।

‘केही दिनअघि ग्याँस सिद्धिएको थियो । नजिकको ग्याँस सिलिण्डर साँट्ने ठाउँमा छैन, छैन भन्यो’, स्थानीय उपभोक्ता इन्दिरा रानाले भनिन्, ‘अब डिलरमा कहिले आउँछ, सोध्दै, कुर्दै बसेको छु ।’ जिल्ला प्रशासन कार्यालय गोरखाले भने ग्याँसको अभाव सिर्जना नभएको जनाएको छ ।

‘ग्याँस अभाव भयो भन्ने गुनासो सुन्नमा आएको छैन’, प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले भने, ‘तपाइँहरुले सुन्नु भएको छ भने हामीलाई जानकारी गराइहाल्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्