
बिदाइ भए निर्वाचन प्रहरी
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा भर्ना गरिएका निर्वाचन प्रहरीहरुलाई बिदाइ गरिएको छ । बिहीवार हरमटारी खेलमैदानमा एक कार्यक्रमकाबीच उनीहरुलाई बिदाइ गरिएको हो ।
निर्वाचनमा जिल्लाभर २ हजार २८० निर्वाचन प्रहरी परिचालन भएका थिए । २ हजार २०१ नेपाल प्रहरीतर्फ र ७९ सशस्त्र प्रहरीतर्फ भर्ना भएका थिए । गत माघ १८ गते नियुक्ती लिएका उनीहरुलाई ४० दिनका लागि भर्ना लिइएको थियो ।
उनीहरुको तलब दिनको ८६९ रुपैयाँ उल्लेख थियो । ४० दिनको लागि ३४ हजार ७७६ रुपैयाँ उनीहरुले पाएका छन् । त्यस्तै ४० दिनको खाद्यान्नको खर्च सरकारले व्यक्तिगत बैंक खातामा रकम उपलब्ध गराएको छ । बिदाई कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले उनीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
सशस्त्र प्रहरीतर्फ भर्ना भएका निर्वाचन प्रहरीलाई भने सशस्त्र प्रहरी बलको आहालेस्थित गुल्ममा एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो । गुल्मपति ढलप्रसाद काफ्लेले उनीहरुलाई प्रमाणपत्र वितरण गरेर बिदाई गरेका हुन् ।




