| बिहिबार, फाल्गुन २७, २०८२

गोरखामा रास्वपालाई सर्वाधिक ४९.६ प्रतिशत मत

प्रतिनिधि सभा निर्वाचनअन्तरगत प्रत्यक्षतर्फ गोरखाको दुवै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फ ४९.६ प्रतिशत मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २१ हजार ५१६ मतदाता रहेको क्षेत्र नं १ मा ६४ हजार ३८९ जनाले मतदान गरेका थिए । त्यस्तै क्षेत्र नं २ मा कुल १ लाख ८ हजार ५३३ मतदाता रहेकोमा ५७ हजार ९२४ जनाले मतदान गरेका थिए ।

फागुन २१ गते भएको निर्वाचनमा गोरखामा दुई वटा निर्वाचन क्षेत्रमा गरी एक लाख २२ हजार ३१३ मत खसेको थियो ।
जसमध्ये रास्वपाले क्षेत्र नं १ मा ३० हजार ८४८ मत र क्षेत्र नं २ मा २७ हजार ७०४ गरी ५८ हजार ५५२ मत प्राप्त गरेको छ । जुन जिल्लामा खसेको कुल मतको ४९.६ प्रतिशत हो ।

गोरखामा नेपाली कांग्रेसले क्षेत्र नं १ मा १४ हजार १६९ मत र क्षेत्र नं २ मा १० हजार ३४७ गरी २४ हजार ५१६ मत प्राप्त गरेको छ । कांग्रेसले गोरखामा कुल खसेको मतको २०.७ प्रतिशत प्राप्त गरेको हो । नेपाली कम्युनिस्ट पाटी.(नेकपा)ले जिल्लाको क्षेत्र नं १ मा १० हजार ७०१ र क्षेत्र नं २ मा १० हजार २५२ गरेर कुल २० हजार ९५३ मत प्राप्त गरेको छ । यो जिल्लामा खसेको कुल मतको १७.७ प्रतिशत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै नेकपा एमालेले क्षेत्र नं १ मा तीन हजार ७७९ र क्षेत्र नं २ मा दुई हजार ९४१ गरी ६ हजार ७२० मत प्राप्त गरेको छ । जिल्लामा एमालेले कुल खसेको मतको ५.६९ प्रतिशत मत प्राप्त गरेको हो । यस्तै, बाबुराम भट्टराई आवद्ध प्रगतिशिल लोकतान्त्रिक पार्टीले गोरखाको दुवै क्षेत्र गरेर एकहजार १२३ मत प्राप्त गरेको छ ।

यो जिल्लामा खसेको कुल मतको ०.९ प्रतिशत हो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा खसेको कुल मतको १.१४ प्रतिशत अर्थात एकहजार ३४८ मत प्राप्त गरेको छ भने हर्क साम्पाङको श्रम संस्कृति पार्टीले एक प्रतिशत अर्थात एकहजार १८२ मत प्राप्त गरेको छ । गोरखामा रास्वपा, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले मात्र थ्रेस होल्ड कटाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्