| बुधबार, फाल्गुन २६, २०८२

गोरखामा बदर मतको चाङ

नेपालमा बि.सं. २०१५ देखि प्रतिनिधिसभाको निर्वाचन हुन थालेको हो । पञ्चायती व्यवस्थामा पनि एक पटक जनमत संग्रह र २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावहरु भए । प्रजातन्त्र पुनस्थापनापछि पनि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ र २०८२ मा उमेर पुगेका बालिग मतदाताले भोट हालेको अनुभव छ ।

करिब दर्जन पटक भोट हालेको अनुभव भए पनि ठूलो संख्याका मतदाताहरुले भोट बदर गर्ने समस्या अहिलेसम्म कायमै छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखाका मतदाताको पाँच हजार २२८ मत बदर भएका छन् । यो जिल्लामा खसेको कुल मतको ४.३२ प्रतिशत हो ।

जसमध्य क्षेत्र नं. १ मा दुईहजार दुईसय १९ मत बदर भएका छन् । क्षेत्र नं. २ मा तीन हजार नौ मत बदर भएका छन् । दुवै क्षेत्रमा गरी जम्मा एकलाख २० हजार ७६५ मत खसेको थियो । ६३ हजार ६०९ मत खसेको क्षेत्र नं. १ मा ६१ हजार ३९० मत मात्र सदर भएको थियो । त्यस्तै ५७ हजार १५६ मत खसेको क्षेत्र नं. २ मा ५४ हजार १४७ मत मात्र सदर भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकामा ९६५ मत बदर भएका छन् । २१ हजार ५१० मत खसेको गोरखा नगरपालिकामा कुल मतको ४.४८ प्रतिशत मत बदर भएको हो । त्यस्तै पालुङ्टारमा कुल मतको २.६९ प्रतिशत अर्थात ८८३ मत बदर भएका थिए । बारपाक सुलिकोटमा ६४९ मत बदर भएको थियो । यो पालिकाभर खसेको मतको ५.९५ प्रतिशत हो ।

सबैभन्दा धेरै अजिरकोटमा कुल मतको ६.१९ प्रतिशत मत बदर भएका छन् । कुल ६ हजार ३०१ मत खसेको अजिरकोटमा ४१६ मत बदर भएका छन् । सिरानचोक गाउँपालिकामा भने ५८५ मत बदर भएका छन् । यो गाउँपालिकाभर खसेको कुल मतको ५.४२ प्रतिशत हो । गोरखाको गण्डकी गाउँपालिकामा मत बदर हुने दर कम रहेको छ ।

गण्डकीमा कुल मतको २.७१ प्रतिशत अर्थात २६९ मत बदर भएका छन् । सहिद लखन गाउँपालिकामा ३.४२ प्रतिशत अर्थात ४३६ मत बदर भएको छ भने भीमसेन थापा गाउँपालिकामा ३१६ मत बदर भएका छन् । यो पालिकामा खसेको ११ हजार ३१ मतको २.८६ प्रतिशत हो । जिल्लाको आरुघाट गाउँपालिकामा कुल मतको ४.६५ प्रतिशत अर्थात ३५३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा पनि मत बदर हुने दर यथावत नै छ । आठहजार ८२८ मत खसेको धार्चेमा २.६९ प्रतिशत अर्थात २४० मत बदर भए । चुमनुब्री गाउँपालिकामा भने कुल खसेको मतको ४.१६ प्रतिशत अर्थात ९९ मत बदर भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्