| बुधबार, फाल्गुन २६, २०८२

गोरखामा रास्वपाको ‘क्लिन स्वीप’

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखाको दुवै निर्वाचन क्षेत्रमा रास्वपा विजयी बनेको छ । जेनजी आन्दोलनपछि एकाएक चर्चा बटुलेका सुधन गुरुङ क्षेत्र नम्वर १ बाट बिजयी बने । उनी र प्रतिस्पर्धी अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखियो ।

उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याए । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरे । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मात्र छ । कुल १ लाख २० हजार ५२५ मतदाता रहेको सो क्षेत्रमा ६३ हजार ६०९ मत खसेको थियो । जसमध्ये ६१ हजार ३९० मत मात्र सदर भएका छन् ।

२०७९ सालको निर्वाचनमा सो क्षेत्रमा माओवादीसँगको गठबन्धनमा कांग्रेसका राजेन्द्र बजगाई बिजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका हरिराज अधिकारी बिजयी भए । २०७० सालको निर्वाचनमा भने माओवादीबाट डा. बाबुराम भट्टराइ निर्वाचित भएका थिए ।

२०६४ सालको निर्वाचनमा माओवादीकी पार्वती थापा श्रेष्ठ बिजयी भइन् । २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा भने कांग्रेसका चिरञ्जिवी वाग्लेले एकछत्र राज गरेका थिए । कांग्रेस–माओवादी गढ भत्काउदै सो क्षेत्रमा रास्वपाको उदय भएको छ । सबैलाई पछि पार्दै रास्वपाका सुधन गुरुङ फराकिलो मतान्तर सहित बिजयी बने । कांग्रेसका प्रमे खत्री, नेकपाका हरिराज अधिकारी, एमालेका रामचन्द्र लामिछाने लगायतलाई उनले पराजित गरेका हुन् ।

त्यस्तै कांग्रेस–माओवादीले आलोपालो गर्दै आएको गोरखा–२ मा पनि यो पटक रास्वपा उदाएको छ । उनीहरुलाई फराकिलो मतान्तरसहित पराजित गर्दै कविन्द्र वुर्लाकोटी बिजयी भइसकेका छन् । कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपाका लेखनाथ न्यौपाने, एमालेका मिलन गुरुङ (चक्रे मिलन) लगायतलाई उनले पराजित गरेका हुन् । दुवै निर्वाचन क्षेत्रमा बिजयी हुदै रास्वपाले गोरखामा ‘क्लिन स्वीप’ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्