
गोरखाकी पूर्णिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल
गोरखा आरुघाट गाउँपालिका ९ की पूर्णिमा श्रेष्ठले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । पर्वतारोही श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्न सफल महिलाका नाउँमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।
उनले सन् २०२४ को मे महिनामा एकै सिजनमा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् । पुरुषहरुले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गरेकी हुन् ।
उनले २०२४ मे १२, मे १९ र मे २५ यो साहसिक काम गरेकी थिइन् । यो ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिँदै श्रेष्ठले यो कीर्ति आफ्ने मात्र नभई सिँगो देशकै भएको बताइन् ।
केहीदिन अघि प्राप्त गरेको उक्त प्रमाणपत्र अन्तराष्ट्रिय नारी दिवशका दिनमा सार्वजानिक गर्दै उनले ‘सपना देख्ने हरेक महिलाहरूले दृढ संकल्प, साहस र निरन्तर मेहनतका साथ असम्भव जस्तै देखिने सम्पूर्ण सफलताका शिखरहरू चढ्न सकुन’ भनेर लेखेकी छिन् ।




