
गोरखाको दुवै क्षेत्रमा रास्वपाको लगातारको अग्रताले जिततर्फ उन्मुख
गोरखाको दुवै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी छ । क्षेत्र नं. २ को मतगणना शुक्रबारदेखि नै सुरु भएको हो भने क्षेत्र नं. १ को मतगणना शनिबार १: ४५ देखि मात्र सुरु भएको थियो ।
शुक्रबार क्षेत्र नं. १ को हिमाली भेगको १४ वटा केन्द्रका मतपेटिका ढुवानी गर्न नसकिएकाले सो काम शनिबारसम्म रोकिएको थियो । शनिबार बिहान सबै मतपेटिका ओसारिसकेपछि मतगणना सुरु भएको थियो ।
गोरखाका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातार अग्रता छ । सो पार्टीका क्षेत्र नं. १ का उम्मेद्वार सुधन गुरुङ र क्षेत्र नं. २ का उम्मेद्वार कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका हुन् ।
शनिबार बेलुका अबेरसम्मको मतगणनाको नतिजाअनुसार दुवै क्षेत्रका रास्वपाका उम्मेद्वार दोब्बर मतका साथ अगाडि छन् । यसले उनीहरुको जीत सुनिश्चिततातर्फ देखिएको छ ।




