
अपांगता भएका र ज्येष्ठ नागरिकलाई मतदान गर्न सकस, विशेष ब्यबस्थाको माग
प्रतीक्षा आले ।
गत फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा धार्चे – ५ गुम्दाकी ३० वर्षीय संगीता गुरुङ पनि सहभागी भइन् । शारिरीक रुपमा अशक्त उनले गुम्दाको सूर्योदय माविस्थित मतदान केन्द्रबाट मतदान गरिन् । होचो कद भएकी गुरुङ जसोतसो मतदान केन्द्रसम्म त आइपुगिन् । तर, उनलाई मतदान गर्न भने हम्मेहम्मे प¥यो । मतपेटीकाको उचाई आफूभन्दा दोब्बर अग्लो भएकाले उनले जसोतसो बल गरेर उफ्रिएर मत खसालिन् ।
गुम्दाका ९४ वर्षका जेष्ठ नागरिक नचङ गुरुङ पनि मतदानमा सहभागी बने । आँखा नदेख्ने र कान समेत नसुन्ने नचङको तर्फबाट उनका छोराले मतदान गरेका थिए । धार्चेको लाप्राक, गुम्दा, लप्सिबोट, आरुघाटको मान्बु, स्याम्राङ लगायतका गाउँबस्ती तथा जिल्ला सदरमुकामका गाउँबस्तीहरुमा पनि जेष्ठ नागरिकहरुको मत उनीहरुको परिवारजन, आफन्तले गरिदिएका छन् । यसरी जेष्ठ नागरिकहरुको मत परिवार र आफन्तजनले हाल्दा मतको दुरुपयोग हुनसक्ने जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘बुबाले एउटा चिन्हमा ‘भोट हाल्दे’ भनेको हुन्छ, छोराछोरीले अर्कौमा हालेका हुन्छन् । अहिले देशैभर जेष्ठ नागरिकहरुको मत दुरुपयोग भएको अवस्था छ । नयाँ पुस्ताले हाम्रो राजनीतिक विचार र भावनाको कदर गरेनन् ।’ जेष्ठ नागरिकहरुले पनि निष्पक्ष रुपमा आफूले चाहेको व्यक्ति वा राजनीतिक दललाई भोट हाल्न पाउनुपर्ने उनले बताएका छन् ।
‘जेष्ठ नागरिकहरुको हकमा मतदान अधिकृतहरुले जेष्ठ नागरिकले इच्छाएको चिन्हमा उसको आफन्तले भोट हालेको छ, छैन अनुगमन गर्नुपर्छ’, उनले भने ।
अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुको मतपेटिका नै छुटै हुनुपर्ने उनको तर्क छ । नेत्रहीन संघ गण्डकी प्रदेशका संयोजक पवनकुमार बस्नेत राज्यते अपाङ्गता भएका व्यक्तिहरुको मताधिकार सुनिश्चित नगरेको बताउँछन् । गोरखामा शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरुको सङख्या आठहजार ७६३ रहेको छ । जसमध्ये करिब ८५ प्रतिशतको नाम मतदाता सूचीमा रहेको बस्नेतले जानकारी दिए । मतदाता सूचीमा नाम भएकाहरुमध्य कतिपय निर्वाचनमा सहभागी हुन नपाएको उनको गुनासो छ ।
उनी भन्छन्, ‘हाम्रा मतदान केन्द्रहरु अपाङ्गमैत्री छैनन्, मतपत्रहरु अपाङ्गमैत्री छैनन् । मतपेटिकाको उचाइ धेरै अग्लो छ । मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरुको बिचल्लीको अवस्था देख्न सुन्नमा आएको छ ।’ यसपालिको निर्वाचनमा जिल्लाका धेरै स्थानमा अपाङ्गता भएकाहरुलाई राजनीतिक दलहरुले लैजाने र भोट हालिसकेपछि छोडेर हिँड्ने जस्ता घटनाहरु घटेको उनले गुनासो गरे ।
अधिकांश ठाउँमा अपाङ्गता भएका व्यक्तिको मत दुरुपयोग समेत भएको उनको भनाइ छ । ‘हामीले यसअघिका चुनावहरुमा पनि र यो चुनावमा पनि अपाङ्गता भएकाहरुको मुद्धा उठाउँदै आएका हौँ तर अहिलेसम्म कहीँ कतैबाट सुनुवाई भएको छैन’, उनले भने । अपाङ्गता भएकाहरुको हकमा विद्युतीय प्रणलीमार्फत भोट हाल्न पाउने व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।




