| सोमवार, कार्तिक २३, २०८३

बारपाक–लाप्राकमा मान्छेले जोतेर मकै रोप्ने परम्परा

बायाँको तस्वीर मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले हलो तान्दै मकै रोपिरहेको हो । गुरुङ आफैले हलो तान्दै मकै रोपिरहेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेख्छन्, ‘यस्तो चलन हाम्रोतिर अझै छ । पुरानो परम्पराको नासो पालना गर्न पाउँदा गर्व लाग्छ ।’

दायाँको तस्वीर हिमालय मावि बारपाकका पूर्व शिक्षक रामकुमार घलेले हलो तान्दै मकै रोप्दाको तस्वीर हो । उनी आफैले हलो तान्दै मकै रोपिरहेको आफ्नो भिडियो फेसबुकमा राख्दै लेख्छन्, ‘मकै रोप्ने सिजन सुरु भयो ।’ गोरखाको बारपाक, लाप्राक लगायतका उच्च पहाडी भूभागमा यतिबेला मकै रोप्ने सिजन सुरु भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको बारपाक र आसपासका गाउँहरु तथा धार्चे गाउँपालिकाका प्राय सबै गाउँमा मान्छेले हलो तानेर जोत्दै मकै रोप्ने परम्परा छ ।

पुस्तौँदेखि चल्दै आएको यो परम्परा प्रभावकारी भएकाले अहिलेसम्म पनि निरन्तर चलिरहेको स्थानीयबासीको भनाइ छ ।
अहिले सबै पालिका, प्रदेश तथा केन्द्र सरकारका नीति कार्यक्रममा ‘कृषिमा आधुनिकीकरण’ तथा ‘कृषिमा यान्त्रिकरण’ जस्ता लोकप्रिय नारा चर्चित छ तर व्यवहारमा भने कार्यान्वयन छैन ।

गत एकसाता यता गाउँलेहरु बारीमा धमाधम हलो तान्दै मकै रोप्न थालिएको बारपाकका रामकुमार घले बताउँछन् । ‘मकै बिहे भएपछि धमाधम मकै रोप्ने मेलो सुरु हुन्छ’, बारपाकका रामकुमार घले भन्छन्, ‘मकै रोप्दा मान्छेले हलो तान्ने यहाँको पुरानै परम्परा हो ।’ धेरै पहिलेदेखि सुरु भएको यो परम्परा अहिले पनि कायमै रहेको उनको भनाइ छ ।

‘बाउ–बाजेको पालादेखि गोरुलेझैँ मान्छेले हलो तानेर मकै रोप्ने गरिन्छ’, उनी भन्छन्, ‘कसैले दुईजनाले हलो तान्छन्, कसैले एकजनाले मात्र तान्छन् । मैलेचाहिँ एक्लैले तानेको छु ।’ मान्छेले तानेर मकै रोप्दा गोरुले नभेटेको छेउकुना सबैतिर हलो पु¥याउन सकिने उनको भनाइ छ । ‘पाखोबारीका साना गराहरुमा सबै छेउकुना गोरुले भेट्दैन । मान्छेले जोत्दा त जताततै भेछिन्छ । अनि सजिलो हुन्छ’, घले भन्छन् ।

मान्छेले हलो तान्दा गोरुले भन्दा धेरै गुना छिटो हुने भएकाले मकै रोप्दा यस भेगमा मान्छेले हलो तान्ने गरेको लाप्राकका धनबहादुर गुरुङको भनाइ छ । उनका अनुसार गोरु लगाएर दुई, तीनफेर जोतेर माटो खुकुलो पारिसकेपछि मान्छेले तानेर मकै रोप्ने गरिन्छ ।

‘बाँझो बारी भए त मान्छेले सक्दैसक्दैन नि । दुई, तीनफेर गोरु लगाएर जोतेपछि माछो खुकुलो हुन्छ अनि मान्छेले तानेर मकै रोप्ने हो’, उनी भन्छन्, ‘गोरुले भन्दा मान्छेले हलो तान्दा धेरै छिटो हुने भएकाले मान्छेले जोत्ने गरिन्छ । अहिले हाम्रो धार्चेका गाउँको सबै पाखाभरि मान्छेले जोतेर मकै रोपिरहेको देख्न सकिन्छ । गोरुले भए धेरै दिन लाग्थ्योा, तर मान्छेले जोतेर मकै रोपेको हुनाले एक दुई दिनभित्रै सबैतिर रोपिसकिन्छ ।’

काम पनि छिटो हुने, बारीका छेउकुना सबैतिर भेट्ने हुँदा गाउँलेहरु मान्छेले तानेर मकै रोप्ने कामलाई अहिलेसम्म पनि निरन्तरता दिइरहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्