
सबै मतदान स्थलहरु तयार, गण्डकी प्रदेशको टोलिद्धारा निरीक्षण
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मतदान हुदैछ । मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदान केन्द्र तथा स्थलहरु निर्माण भइसकेका छन् । जिल्लामा २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र छन् । सबै ठाउँमा मतदान स्थल तयार भइसकेको बताइएको छ ।
वुधवार हामी केही मतदान स्थल पुग्दा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने काम भइरहेको थियो । निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन मतदान स्थल तथा केन्द्रहरुमा कडा सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए । उनका अनुसार तीन घेरामा सुरक्षा प्रवन्ध रहने छ ।
गोरखाका केही मतदान स्थलहरुको गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे नेतृत्वको टोलिले निरिक्षण गरेको छ । वुधवार सेनाको हेलिकप्टरमार्फत आएको उक्त टोलिले चुमनुव्री गाउँपालिकाको सिर्दिवासस्थित बुद्ध मावि र बारपाक सुलिकोट गाउँपालिकाको हिमालय मावि मतदान स्थल निरिक्षण गरेका हुन् ।
टोलिमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी दिपेन्द्र जिसी, सशस्त्र प्रहरी बल गण्डकी प्रदेश प्रमुख डिआइजी दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान बिभाग गण्डकी प्रदेश प्रमुख लगायत सहभागी थिए ।




