
मत खस्ने दर घट्दै, बदर मतको दर बढ्दै
गोरखाको विगत केही बर्ष मत विश्लेषण गर्दा मत खस्ने दर घट्दै, बदर मतको दर बढ्दै गएको देखिएको छ । २०७९ मा जम्मा २ लाख २० हजार ६३७ मतदाता थिए । उनीहरुमध्य जम्मा १ लाख १४ हजार ३२६ जनाले मात्र मतदान गरे । अर्थात २०७९ को चुनावमा खसेको मतको दर जम्मा ५१.८२ मात्र रहेको थियो ।
सो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता थिए । मतदानका दिनमा जम्मा ६० हजार दुईसय ८२ मत खसेको थियो । अर्थात कुल मतदाताको जम्मा ५२.२३ मत मात्र खसेको जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकमा उल्लेख छ ।
खसेको मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ५१ अर्थात ५.०६ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ गोरखा क्षेत्र नम्बर १ मा तीन हजार पाँचसय ८१ मत अर्थात खसेको मतको ५.९ प्रतिशत बदर भएको थियो । उक्त निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा धेरै मत बदर भएको थियो ।
२०७९ को चुनावमा गोरखा क्षेत्र नं २ मा कुल एकलाख पाँचहजार दुईसय ४० मतदाता रहेकोमा जम्मा ५४ हजार ४४ मत खसेको थियो । यो कूल मतदाताको ५१.३५ प्रतिशत हो । प्रतिनिधिसभामा पनि प्रत्यक्ष र समानुपातिकतर्फ धेरै मत बदर भएको थियो । तीमध्ये तीन हजार एकसय २६ मत अर्थात ५.७८ प्रतिशत मत बदर भएको थियो । प्रतिनिधिसभाको समानुपातिकतर्फ गोरखा क्षेत्र नं २ मा दुई हजार नौ सय ५९ मत अर्थात खसेको मतको ५.४ प्रतिशत बदर भएको थियो । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ धेरै मत बदर भएको छ ।
२०७४ को निर्वाचनमा गोरखा क्षेत्र नं १ मा ६३ हजार छ सय चार मत खसेको थियो । जसमध्ये चार हजार तीन सय २० मत अर्थात खसेको मतको ६.७९ प्रतिशत बदर भएको जिल्ला निर्वाचन कार्यालय गोरखाको तथ्याङकमा उल्लेख छ ।
यसैगरी गोरखा क्षेत्र नं २ मा ६० हजार एक सय १५ मत खसेको थियो ।
जसमध्ये २ हजार ६ सय ३६ मत अर्थात खसेको मतको ४.३८ प्रतिशत मत बदर भएको अभिलेखमा उल्लेख छ । गोरखामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा बदर मतको संख्या उल्लेख्य हुने गरेको छ ।




