| आइतवार, जेष्ठ १६, २०८३

कांग्रेसलाई सघाउने निर्णय इमान्दारपूर्वक पालना गर्न प्रलोपा गोरखाका अध्यक्ष खत्रीको अपिल

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) गोरखाका अध्यक्ष नारायण खत्रीले पार्टी निर्णयको अक्षरसः पालना गर्न कार्यकर्ता तहमा निर्देशन गरेका छन् । गोरखाको दुवै क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिएको प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारहरु प्रकाशचन्द्र दवाडी र प्रेमकुमार खत्रीलाई समर्थन गर्ने निर्णय गरेकाले सो निर्णय कार्यान्वयन गर्न सार्वजनिक रुपमा अपिल गरेका हुन् ।

केही कार्यकर्ता तहबाट पार्टीको निर्णयको मर्म र भावना विपरीतका अभिव्यक्तिहरु सामाजिक सञ्जालमा लेखेकोतर्फ लक्षित गर्दै खत्रीले दुवै क्षेत्रमा कांग्रेसलाई समर्थन गर्ने निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् । आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट परिपत्र सार्वजनिक गर्दै निर्धक्कसँग पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी पंक्तिलाई अनुरोध गरेका छन् ।

‘पार्टीले अनवरत प्रयास गरी गरेका प्रयासहरूमा सकारात्मक रूपले सहयोग गर्नुपर्ने ठाउँमा अहिले आएर केही साथीहरूले विभिन्न अभिव्यक्ति दिँदै नाटक मञ्चन गरिरहनुभएको छ । पार्टीको हित विपरीत यस्ता हर्कतहरू नगर्न सम्बन्धित साथीहरूमा निर्देशन गर्दछु’, उनको अपिलमा भनिएको छ, ‘निर्धक्कसँग हामीले गरेको निर्णयमा उभिन, निर्वाचनको प्रचारप्रसारमा लाग्नको लागि सिङ्गो पार्टी पङ्क्ति र मतदाताहरूमा अनुरोध गर्दछु’, उनले लेखेका छन् ।

कारणबश गोरखामा प्रलोपाको उम्मेदवारी खाली रहेको हुँदा जिल्लाका सबै पक्षसँग भएको सघन छलफलबारे पार्टीलाई जानकारी गराएको र आफ्नो उम्मेदवार नभएको हुनाले यो पटक कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको खत्रीले जानकारी गराएका छन् । ‘आफ्नो पार्टीको तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार नभएको हुँदा यसपटकको प्रत्यक्षतर्फको मतदान नेपाली कांग्रेसलाई गर्ने निर्णय भएको सत्य हो’ अपिलमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्