| आइतवार, जेष्ठ १६, २०८३

गोरखा–१ मा खत्रीको घरदैलोः मतदाताको गुनासो सुन्दै, आफ्नो एजेण्डा सुनाउँदै

‘सुनिने, चिनिने र देखिने’ सांसदको रुपमा आफूलाई स्थापित गराउने अभिप्रायले चुनावी मैदानमा होमिएका प्रेम खत्रीको दैनिकी हिजोआज अलि भिन्न छ । घरदैलो अभियानले उनको नियमित तालिकामा यसरी ब्रेक लगाइदिएको छ की, समयमा सुत्न पाउँछन् न खान । बिहान सवेरै हात जोड्दै घरघर पुग्छन् । आफ्नो एजेण्डा सुनाउँछन् । अनि भोट माग्छन् ।

उनको निर्वाचन क्षेत्र भौगोलिक हिसावले ठुलो मात्र होइन बिकट पनि छ । गोरखा नगरपालिकादेखि चीनसँग सिमा जोडिएको उत्तरी गोरखा उनकै निर्वाचन क्षेत्रभित्र पर्छ । अधिकांश गाउँहरु सडक सञ्जालको पहुँचबाहिर छन् । घरघरै पुगेर मतदाता भेटघाट गर्न त्यति सहज देखिदैन । तर हरेक मतदाताको घर पुग्ने अठोटसहित उनी घरदैलो अभियानमा कस्सिएका छन् ।

शनिवार शहिद लखन गाउँपालिका–७ कोटगाउँमा उनी भेटिए । मतदाता भेटघाटमा व्यस्त उनलाई केहीवेर हामीले पछ्यायौ । घरघर पुगेर आफ्नो एजेण्डा सुनाउदै मत मागिरहेका खत्रीमाँझ स्थानीयले गुनासाका पोकाहरुसमेत फुकाइरहेका थिए ।
मतको बदलामा स्थानीयका अपेक्षा ठुला थिएनन् । सडक र खानेपानीजस्ता आधारभूत कुरा मागिरहेका थिए । फुलमाया गुरुङ भन्दै थिइन्, ‘हामीलाई बिकास चाहियो, अरु केही पर्र्दैन ।’

इन्द्रबहादुर श्रेष्ठले सडक र खानेपानीलाई जोड दिए । ‘गाउँको सडक राम्रो बनाइदिए पुग्छ, अनि घरमा खानेपानी,’ उनले माग राखे । शान्ति परियारले भने देशमा शान्तिको कामना गरिन् । ‘देशमा शान्ति कायम होस्, राम्रो होस्,’ उनले भनिन्, ‘हामीले भोट दिएपछि हाम्रो पनि केयर होस् ।’ स्थानीयको अपेक्षालाई आफ्नो चुनावी एजेण्डाले समावेश गरेको उनले प्रष्ट्याइरहेका थिए । व्यक्तिगत समस्यामा समेत उनी भिज्न खोज्दै थिए । समस्या परेमा फोन गर्न भन्दै ‘भिजिटिङ कार्ड’ समेत बाँड्न भ्याए ।

उनको चुनावी एजेण्डामा बुढीगण्डकी जलबिद्युत आयोजनादेखि स्वायत्त उत्तरी गोरखासम्मले स्थान पाएको छ । बुढीगण्डकी आयोजना निर्माणको थालनीसँगै पुनर्वास र पुनस्र्थापनामा बिशेष पहल गर्ने उनको प्रतिवद्धता छ । मनास्लु क्षेत्रमा हाल कायम निषेधित क्षेत्र हटाएर उत्तरी गोरखालाई बिशेष क्षेत्र घोषणाका लागि पहल गर्ने उनको एजेण्डा छ । गोरखा दरवारलाई विश्व सम्पदा सूचिमा समावेश गराउने लक्ष्य उनले लिएका छन् । चुम भ्यालीलाई बिशेष सांस्कृतिक तथा कृषि गाउँको रुपमा बिकास गर्ने उनको योजना छ ।

आफूले सम्पादन गर्ने हरेक काम र योजनालाई डिजिटल माध्यमबाट सार्वजनिक गरी पारदर्शीता कायम गर्नेमा उनको जोड छ । ‘समुन्नत गोरखा र सम्मानित गोरखाली’ को नारा बोकेर अघि बढेका खत्रीले सांसद भएपश्चात पाउने सेवा सुविधा सामाजिक कार्यमै खर्च गर्ने बताएका छन् । ‘मलाई पैसाको लोभलालच छैन,’ उनले भने, ‘सांसद भएपश्चात जति सेवासुविधा पाउँछु त्यति नै थपेर सामाजिक कार्यमा खर्च गर्छु ।’

पर्यटन व्यवसायीको रुपमा परिचित उनी आफूलाई राजनीतिकभन्दा समाजसेवीको रुपमा चिनाउन रुचाउँछन् । राजनीति बिशुद्ध समाजसेवाका लागि हो भन्ने भाव उनमा छ । गोरखाको आरुघाट गाउँपालिका–८ आरुपोखरीका उनी समाजसेवाको जगमा बिजयी हासिल गर्ने लक्ष्यसहित फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उठेका छन् । नेपाली कांग्रेसबाट गोरखा–१ मा उनको उम्मेदवारी छ ।

पहिलो पटक चुनावी मैदानमा उत्रिएका खत्रीको हरिराज अधिकारी, सुधन गुरुङ र आरसी लामिछाने मुख्य प्रतिस्पर्धी छन् । यसअघि सोही क्षेत्रबाट चुनाव जितेर सांसद भइसकेका अधिकारी नेकपाका उम्मेदवार हुन् । गुरुङ रास्वपा र लामिछाने एमालेका हुन् । विगतका निर्वाचनलाई केलाउँदा २०७४ सालमा माओवादीका हरिराज अधिकारी सोही क्षेत्रबाट बिजयी भएका थिए । जो अहिले पनि नेकपाका उम्मेदवार छन् ।

एमालेसँगको चुनावी गठवन्धनमा उनी निर्वाचित भएका हुन् । २०७९ सालको निर्वाचनमा कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका थिए । माओवादीसँगको चुनावी तालमेलका कारण गोरखा–१ कांग्रेसले पाएको थियो भने गोरखा–२ माओवादीले ।
अहिले दलहरुबीच चुनावी गठवन्धन नभएका कारण पनि कसको सम्भावना कति भनेर सहजै आकलन गर्न सक्ने अवस्था छैन । मुख्यतया कांग्रेस, माओवादी, एमाले र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

बाबुराम भट्टराई आवद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसलाई सघाउने निर्णय गरेको छ । केही मतान्तर फरक पर्ने भएपनि सांगठनिक संरचना बलियो नभएका कारण यसको ठुलो प्रभाव गोरखा–१ मा देखिदैन । तर खत्रीका लागि यो सहकार्य जितको एक आधार बन्न सक्छ ।

त्यसो त १६ बर्षको समाजसेवाको जग नै चुनाव जित्ने आधार रहेको खत्री बताउँछन् । बदलिएको कांग्रेसको नारा लिएर मतदातामाझ उनी उभिएका छन् । युवा नेतृत्वको रुपमा आफूलाई परिचित गराउन समेत उनी पछि परेका छैनन् । ‘युवा पुस्ता, रुपान्तरण र बदलिदो परिस्थितीमा घुलमिल हुन सक्ने व्यक्ति हुँ म, अब नयाँ फरक गर्नुपर्छ, सम्झन लायक काम गर्नुपर्छ,’ उनले भने । परिवर्तित भएर आएको नयाँ पार्टी कांग्रेस रहेको सुनाउँदै उनले आफ्नो पक्षमा मत मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्