
विधि बनाउन जानेहरुले विधि नमिचुन्
नेपालमा प्रतिनिधि सभा निर्वाचनको संघारमा आइपुग्दा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालनाभन्दा बढी उल्लंघनका दृश्यहरू जताततै देखिन थालेका छन् । आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । सिद्धान्ततः यो समय मतदाताले शान्त भएर विवेकपूर्ण निर्णय लिने बेला हो । तर, अहिलेसम्मको चुनावी प्रचारको शैली हेर्दा उम्मेदवारहरूमा नियमप्रतिको निष्ठा भन्दा पनि शक्तिको प्रदर्शन गर्ने होडबाजी बढी देखिएको छ ।
निर्वाचन आयोगले तामझाम नगर्न, गाडीमा ठूला झण्डा र ब्यानर नराख्न, र भड्किलो प्रचार नगर्न स्पष्ट निर्देशन दिएको छ । तर, सडकमा दृश्य अर्कै छ । गाडीको ‘सनरुफुबाट बाहिर निस्किएर शक्ति प्रदर्शन गर्ने, ठूला–ठूला साउन्ड सिस्टम बजाउने, र निर्वाचन चिन्ह अंकित टिसर्ट तथा टोपीको वितरण गर्ने कार्य रोकिएको छैन । ‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ, निर्वाचन जित्नु अगावै राज्यका नियमहरूलाई लत्याउने उम्मेदवारहरूबाट भोलि विधि र विधानको पालना होला भनेर कसरी विश्वास गर्ने ?
अहिलेका उम्मेदवारहरू भोलिका नीति–निर्माता हुन् । उनीहरूको मुख्य जिम्मेवारी नै देशका लागि आवश्यक ऐन, कानुन र नीति तर्जुमा गर्नु हो । तर, जो आफैँ कानुन बनाउने थलो (संसद) मा पुग्न लालायित छ, उसैले कानुनको धज्जी उडाउनुले हाम्रो राजनीतिक नेतृत्वमा रहेको गहिरो नैतिक संकटलाई उजागर गर्छ । नियमको पालना गर्नु कमजोरी होइन, बरु लोकतान्त्रिक संस्कारको परिचय हो । यदि निर्वाचन जित्नका लागि नै गैरकानुनी बाटो रोजिन्छ भने, पदमा पुगेपछि उनीहरूबाट सुशासन र विधिको शासनको अपेक्षा गर्नु ‘बालुवाको तेल निचोर्न’ जस्तै हुनेछ ।
यस्तो अवस्थामा निर्वाचन आयोग केवल ‘रबर स्ट्याम्प’ मात्र बन्नु हुँदैन । आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने मात्र होइन, दोषी देखिएमा उम्मेदवारी रद्द गर्नेसम्मको साहस देखाउनुपर्छ । सँगै, मतदाताहरू पनि सचेत हुनुपर्ने बेला आएको छ । नियम मिचेर तामझाम गर्नेहरूलाई भोट दिएर जिताउनु भनेको भविष्यमा बेथिति निम्त्याउनु हो ।




