
गृहसचिव र प्रहरी प्रमुखद्वारा गोरखाको निर्वाचन सुरक्षाको अनुगमन
नेपाल सरकारका गृहसचिव राजकुमार श्रेष्ठ तथा नेपाल प्रहरी प्रमुख आइजीपी दानबहादुर कार्कीले गोरखाको निर्वाचन सुरक्षाको अनुगमन गरेका छन् । शुक्रबार गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुको सुरक्षा व्यवस्थाको अनुगमन गर्ने क्रममा उनीहरु पोखराबाट गोरखा आइपुगेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उनीहरु दुवैजनाले गोरखामा आयोजना गरिको निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठकलाई सम्बोधन गरेका थिए । निर्वाचन भनेको लोकतान्त्रिक व्यवस्थाको मूल आधार भएकाले शान्तिपूर्ण, भयरहित, निष्पक्ष रुपमा चुनाव सम्पन्न गर्न गराउन सरोकारवालाहरुलाई अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले फागुन २१ गते हुने चुनाव कुनै व्यक्ति वा पार्टीले मात्र जित्ने चुनाव नभै राष्ट्रले जित्ने चुनाव भएको तर्क गरेका थिए ।
‘अहिले कोही व्यक्तिले जितोस्, कोही व्यक्तिलाई जिताऊ भनेर कार्यकर्ताहरु लागेका छन् । उम्मेदवारहरु जित्नका लागि लालायित छन् । राजनीतिक पार्टी कसरी धेरै मत प्राप्त गर्ने भन्नेतर्फ लालायित छन् । त्यसलाई मैले अन्यथा लिइन तर अहिले सबैभन्दा ठूलो कुरा यो चुनाव व्यक्ति वा पार्टीले मात्र जित्ने नभै राष्ट्रले जित्ने चुनाव हो’, उनले भने, ‘राष्ट्र कसरी जित्छ भने यदि यो निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रुपमा, विवाद रहित हिसाबले सम्पन्न हुन्छ र राष्ट्रभित्र मात्र होइन अन्तर्राष्टिय हिसाबमा यो निर्वाचन स्वतन्त्र हिसावले सम्पन्न भएको सन्देश दिनसकियो भने राष्ट्रले जित्छ ।’ राष्ट्रले जित्यो भने सबै नागरिकले जित्ने बताउँदै उनले राष्ट्रले जित्नका लागि सबैको पहल आवश्यक रहेको बताए ।
साथै उनले कुनै पनि नकारात्मक टिकाटिप्पणी नआउने गरी निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्न राजनीतिकर्मी, सरोकारवाला निकाय तथा नागरिक समाजलाई आग्रह समेत गरेका छन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीले प्रहरी अधिकारी तथा सकल दर्जाका सुरक्षाकर्मीहरुलाई माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्न निर्देशन दिएका छन् । सुरुदेखि अन्तिमसम्म तन, मन लगाएर सुरक्षा प्रदान गर्न आग्रह गर्दै उनले कुनै पनि पल कर्तव्यबाट नचुक्न निर्देशन दिएका हुन् ।
निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सुरक्षाकर्मी, राजनीतिकर्मी, संचारकर्मी एवं समग्र समाजले मौन अवधिको सम्मान गर्नुपर्नेमा जोड दिए । साथै उनले संचारकर्मीहरुलाई सही समाचार सम्प्रेषण गरी राष्ट्रिय अखण्डता तथा राष्ट्रिय सम्मानलाई कायम राख्न योगदान गर्न आग्रह गरे ।
‘हामी नै ढुंगा हानाहान गरे कुन आलौकिक शक्ति आएर रोकिदिन्छ त ? तसर्थ सभ्य व्यवहार हामीले नै गर्नुपर्छ’, उनले सरोकारवाला सबैलाई भने, ‘अनर्गल प्रचार गरेर स्थिति बिगार्नु बिकार हो, विकारलाई खकारसरह फ्याक्नुपर्छ । आज पनि अनर्गल प्रचारका विभिन्न समाचार आइरहेका छन् । संचारकर्मीहरु संयमित हुनुपर्छ ।’




