
निर्वाचन अवधिभर मदिराजन्य वस्तुको उत्पादन, ओसारपसार तथा बिक्रीवितरण नगर्न प्रशासनको आग्रह
निर्वाचन अवधिभर मदिराजन्य पदार्थको उत्पादन, ओसारपसार तथा बिक्रीवितरण नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अवधिभर जिल्लाभर कुनैपनि प्रकारका मदिराजन्य वस्तुहरुको उत्पादन, ओसारपसार, बिक्रीवितरण तथा प्रयोगमा पूर्ण रुपमा निषेध गरिएको जनाएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गराउने सन्दर्भमा गृह मन्त्रालयबाट प्राप्त परिपत्र तथा शुक्रबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकबाट उक्त निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सूचना विपरीतका गतिविधिहरु भए, गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत नेत्रप्रसाद शर्माले बताए ।




