| आइतवार, जेष्ठ १६, २०८३

राजनीतिक स्कुलमा भर्ना नभएकाहरुसँग प्रतिस्पर्धामा छु : आरसी लामिछाने

प्रतीक्षा आले ।
आसन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र (आरसी) लामिछानेले आफू केही ‘टेस्टेड’ र केही राजनीतिक स्कुलमा भर्ना नभएका उम्मेदवारहरुसँग प्रतिश्पर्धामा रहेको बताएका छन् । दरौँदीसँगको कुराकानीमा उनले आफू प्रतिश्पर्धीबिहिनको रुपमा राजनीतिक मैदानमा उत्रिएको तर्क गरेका हुन् ।

‘राजनीतिक मैदानमा होमिरहेको बेलामा राजनीतिक व्यक्तिहरुको बीचमा प्रतिश्पर्धा हुनुपर्ने थियो तर मैले प्रतिश्पर्धाको मैदानमा राजनीति सिक्नु पर्ने व्यक्तिहरु नै देखिरहेको छु’, उनले भने । जनताले राजनीतिक आन्दोलनप्रति को प्रतिबद्ध छ, कसको इतिहास के हो, वर्तमानमा के गरिहेको छ र कसले भविष्यप्रति कति न्याय गर्न सक्छ भन्ने बुझिरहेको लामिछानेले बताए ।

हालसम्म जिल्लाबाट नेकपा एमालेको प्रतिनिधि संघीय संसदमा नभएका कारण बूढीगण्डकी आयोजना अलपत्र परेको उनको तर्क छ । आफूहरुको सांगठनिक अवस्था मजबुद रहेको भन्दै उनले यसअघिको निर्वाचनमा प्राप्त गरेको मतको आधार नै आफ्नो जितको आधार रहेको जनाए । यस्तै उनले गोर्खाली जनताहरु नेकपा एमालेलाई विजयी बनाउन आतुर रहेको जानकारी दिए ।

‘जिल्लाको सर्वाङ्गीण विकासका लागि, गोरखाका जनताको आवाज संघीय संसदमा बुलन्द बनाउनका लागि र त्यो आवाजलाई कार्यान्वयन गर्न सक्ने ल्याकत भएको व्यक्तिको रुपमा र त्यो सामथ्र्य भएको पार्टीको रुपमा पनि जनताले मलाई मत दिन्छन् । त्यो कुरामा म विश्वस्त छु’, उनले भने, ‘अन्य प्रतिश्पर्धामा रहेका पार्टीहरु बीच एकआपसमा बेमेल छ । हामी नेकपा एमाले सधैँभैmँ यसपटक पनि पार्टीप्रति एकताबद्ध भएर अघि बढेका छौँ ।’

अन्य राजनीतिक दलहरुको अवस्था र एमालेको सुदृढ अवस्थाको आधार नै नेकपा एमालेको जीत सुनिश्चित भएको आकलन गर्न सक्ने बलियो आधार रहेको लामिछानेको भनाइ छ । एमालेले हालसम्म गोरखाबाट एउटा प्रतिनिधि सभा क्षेत्र पनि जितेको इतिहास छैन । आफूले चुनाव जिते अलपत्र बुढीगण्डकी योजना अगाडी बढाउने देखि लिएर उत्तरी गोरखालाई पर्यटनको आकर्षण केन्द्रका रुपमा विकास गर्ने, जडिबुटी केन्द्रको प्रवद्र्धन र विकास गर्ने लगायतका विषयलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ ।

गोरखा राजधानीबाट नजिक भएतापनि टाढा जस्तो अनुभूति हुने गरेको भन्दै लामिछानेले त्रिशुली मनकामनाको शिरदेखि चुमनुब्रीको भीरसम्मको दुरावस्थालाई अन्त्य गर्ने स्पष्ट खाका सहित चुनावी मैदानमा उत्रिएका जनाए ।

‘अहिले हामी चुनावका लागि मात्र घरदैलोमा छैनौँ, जनताका समस्याहरु बुझ्ने, आम गोर्खाली जनताले के चाहिरहेका छन् लगायतका विषयमा अध्ययनको क्रममा पनि छौँ’, उनले भने । मूलभुत रुपमा गोरखा क्षेत्र नं १ का जनताहरु के चाहिरहेका छन् भन्ने अध्ययन गर्दा सिङ्गो गोरखाको समग्र विकासका लागि, ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई कसरी सार्थक रुपमा पु¥याउन सकिन्छ भनेर हेरिरहेको लामिछानेले बताएका छन् ।

२०३८ मंसिर २० गते गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारमा बुबा दण्डपाणि र आमा सरस्वती लामिछानेको सन्तानका रुपमा उनको जन्म भएको थियो । आफू स्कुले जीवनदेखि नै एमालेको अनेरास्ववियुमा आवद्ध हुँदै आएको लामिछाने सुनाउँछन् । आरुघाटको जनशक्ति प्राविबाट प्राथमिक शिक्षा सुरु गरेका उनले भिमोदय माविबाट २०५४ मा माध्यमिक शिक्षा पूरा गरेका थिए ।

भिमोदय पढ्ने क्रममा कक्षा ६ बाट अनेरास्ववियूमा आवद्ध भएका उनी काठमाडौँको सरस्वती क्याम्पसको अनेरास्ववियूको अध्यक्ष बनेका थिए । रत्नराज्य क्याम्पसबाट नेपालीमा स्नाकोत्तर र राजनीतिक शास्त्रमा पिएचडीसम्म अध्ययन गरेका छन् ।
अखिलको काठमाडौँ जिल्ला सचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका उनी अनेरास्ववियूको वरिष्ठ उपाध्यक्ष, कार्यबाहक अध्यक्षको जिम्मामा समेत थिए ।

हाल नेकपा एमालेको केन्द्रीय समिति सदस्य एवं पार्टीको गोरखा निर्वाचन परिचालन कमिटिका संयोजक रहेका लामिछाने अधिवक्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्