
फिनाममा मृत अवस्थामा चितुवा फेला
गोरखामा एउटा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका वडा नं ४ फिनामस्थित हिलेखर्कमा मंगलबार चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।
मृत फेला परेको चितुवा करिब एक वर्ष उमेरको हुनसक्ने अनुमान गरिएको उनले जानकारी दिए । उनले भने, ‘सो क्षेत्रमा स्थानीयहरुले सोमबार राती चितुवा–चितुवा झगडा परेको जस्ता आवाज सुनेको बताएका छन् । भाले चितुवासँग झगडा पर्ने क्रममा मृत्यु भएको हुनसक्छ ।’
चितुवा स्थानीय डम्बरबहादुर थापाको पाखो बारीमा मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । मृत भेटिएको उक्त चितुवालाई डिभिजन वन कार्यालय गोरखामा ल्याएर पशुचिकित्सक विज्ञबाट पोस्टमार्टम गरिने उनको भनाइ छ । चितुवाको लम्बाइ ५ फिट र उचाइ २७ इन्च रहेका बताइएको छ ।




