| सोमवार, कार्तिक २३, २०८३

माग्दै नमागेकालाई भोट दिन बाध्य हुनु घोर अपमान हो

कुनै पनि कुरा माग्नेले मागे पछि मात्र दिने दिनु धर्म हो । माग्नेले नमाग्दै दिनेले दिन बाध्य हुनु दिनेहरुमाथि गरिएको अपमान हो ।
दिने मान्छे निरिह हुनसक्छ, गरिब हुनसक्छ, निमुखा हुनसक्छ, पिछडिएको समुदायको हुनसक्छ । लिने मान्छे पद, शक्तिसम्पन्न हुनसक्छ, बोलवाला हुनसक्छ, दम्भी, घमण्डी हुनसक्छ, रवाफिलो हुनसक्छ । दिनेमान्छे निरिह, निमुखा छ भन्दैमा माग्नेले नमागी दिन बाध्य पार्नु पाप हो ।

अहिले नेपालमा निर्वाचनको माहोल छ । सहरी भेगमा, तराई, मधेशतिर भोट माग्नेको असाध्यै चहलपहल बढिरहेको छ । तर हिमाली भेगका भोटेहरुलाई चुनावै लागेको छैन । उनीहरुको सामु भोट माग्न कोही पनि पुगेका छैनन् । तर निर्वाचनको दिन उनीहरु लखरलखर मतदानकेन्द्र पुगेर कसै न कसैलाई भोट हाल्न बाध्य छन् ।

माग्दै नमागेका उम्मेद्वारलाई भोट हाल्नुपर्दा उनीहरुमा खिन्नता छ । सामाजिक सञ्जालहरुमा उनीहरुले अन्यत्रका उम्मेद्वारले मतदातासंग झुकेर, नम्र विनयभावमा भोट मागेको देखेका छन् । अनेकन चाकडी गरेर भोट फकाएको देखेका छन् । तर आफूहरु भने कसैले पनि भोट नमागीकन भोट दिन बाध्य छन् । यो बिडम्बना हो । नमागीकन भोट दिनु भोटको पनि अपमान हो, भोटखोलाबासीको पनि अपमान हो ।

अहिले भोट माग्ने बेलामा त गाउँमा नपुगेका उम्मेद्वार भोलि चुनाव जितेपछि त्यो गाउँमा पुग्लान भन्ने सोच्नु झुठ हुनेछ । ‘माग्न’ त दुर्गम बस्ती नगएकाहरु नेताहरु ‘दिन’ गाउँ जालान् भनेर विश्वास गर्ने आधार छैन । भोलिका दिनमा चुनाव जितेर काठमाडौं गएपछि उनीहरु पनि त्यसैगरी पर हुनेछन्, जसरी यसअघिका नेताहरु चुनाव जितेपछि गाउँबाट गायब भएका थिए ।
तसर्थ अब भोटखोलाका बासिन्दा पनि सचेत हुनुपर्छ, नेतालाई भोट माग्न पनि र चुनाव जितेपछि विकास दिन पनि गाउँमा आउन बाध्य पार्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्