
भोटखोलामा भोटै नमागी चुनावः गाउँले भन्छन्, ‘हाम्रो गाउँ त नेपालभित्र पर्दैन कि के हो ?’
शिव उप्रेती । ‘हाम्रो भोटखोलाका मान्छेलाई त चुनाव आए नआएको थाहा पत्तै छैन’, चुमनुब्री ४ गपका थार्पा ग्याल्जेन भन्छन्, ‘देशभर चुनाव लागेको छ । हाम्रो ठाउँमा चुनावको अत्तोपत्तो छैन । साँच्चै भन्नुपर्दा, यो ठाउँ त नेपालै होइन कि के हो ? जस्तो लागेको छ ।’
देशभर चुनावी वातावरण भए पनि भोटखोला अहिलेसम्म चुनाव नआएको उनको गुनासो छ । ‘बिहान होटलमा चिया खान गाउँलेहरु भेला भएका थिए । चुनाव आयो नि भनेर मैले कुरा झिकेँ । के को चुनाव ? पाँच बर्ष पुग्यो र ? बल्ल त तीनबर्ष पुग्दैछ । अझै दुई बर्ष बाँकी छ हैन र ? भनेर सोध्दैथिएँ बुढाहरु’, थार्पा भन्छन्, ‘अहिलेसम्म कोही पनि भोट माग्न आएका छ्रैनन् । अब चुनावको दिनमा कुन पार्टीलाई भोट दिने ? भोट कसरी हाल्ने ? न पार्टीका मान्छेहरु सिकाउन आएका छन्, न निर्वाचन आयोगका मान्छे सिकाउन आएका छन् । चुनावको दिनमा गाउँलेहरु मतपत्र हातमा लिएर अलमल पर्ने अवस्था छ ।’
गोरखा क्षेत्र नं. १ को चुमनुब्री गाउँपालिका भोटखोलामा अवस्थित छ । सातवटा वडा रहेको यहाँ गाउँपालिकाको केन्द्र फिलिमसम्म मात्र सडक सञ्जालले जोडेको छ । वडा नं. ३ मा पर्ने फिलिमसम्म सडक सञ्जालले जोडेको छ । बाँकी ६ वटा वडामा अहिलेसम्म कुनै पनि पार्टीका न उम्मेद्वार पुगेका छन्, न नेता, न कार्यकर्ता भोट माग्न पुगेका छन् । भोटै नमागी भोट हाल्नुपर्ने अवस्था आएको स्थानीयबासीको दुखेसो छ ।
सबै पार्टीका उम्मेद्वार र नेताहरुले जाडो छल्न काठमाडौं पुगेकाहरुसंग मात्र भोट मागेका छन् । ‘काठमाडौं बस्नेहरुले मेरो हातमा यति भोट छ भनेर ठेक्का लिएका होलान् । यति भोट म जिम्मा लिन्छु भन्ने ग्यारेण्टी गरेर पैसा पनि खाएका होलान्’, नाम गोप्य राख्न चाहने भोटखोलाका एक स्थानीयबासी भन्छन्, ‘त्यस्ता मान्छेले सबै पार्टीसंग पैसा कुम्ल्याउँछन् अनि गाउँमा आएर सबैको मन राख्न भोट बाँडेर हाल्छन् । यसरी नै बर्षौँ बितेको छ ।’ जाडो छल्न काठमाडौं झरेकाहरु अधिकांश त चुनाबसम्म गाउँ नफर्कने उनको दाबी छ ।
आफूहरु दुखी ठाउँका दुख पाउने मान्छे भनेर कोही पनि भोट माग्न नआएको हुनसक्ने चुमनुब्री ५ की निमा डिकी बताउँछिन् । ‘भोट माग्न पनि कोही आएनन् । भोट हाल्ने कहिले हो भन्ने पनि थाहा छैन’, उनी भन्छिन्, ‘हामी दुख पाउने मान्छेसंग के माग्ने भनेर नआएका होलान् ।’
गाउँपालिकाको केन्द्र फिलिमसम्म सडक सञ्जालले जोडेको छ, त्यसैले सबै पार्टीका उम्मेद्वार, नेता, कार्यकर्ता फिलिमसम्म मात्र भोट मागेर फर्कने गरेका छन् । सिर्दिबासभन्दा पर ६ वटा वडाहरु रहेका छन् । त्यहाँसम्म पुग्न दुई, तीन दिनसम्म पैदलयात्रा गर्नुपर्छ तर, ती गाउँबस्तीमा कुनै पार्टीका नेता, कार्यकर्ता, उम्मेद्वार भोट माग्न पुगेका छ्रैनन् । अब पुगेर फर्कने कार्यक्रम पनि बनाएका छैनन् ।
तराई र पहाडी क्षेत्रमा चुनावी माहोल सामाजिक सञ्जालमा देखेको तर आफ्नो गाउँमा कोही पनि भोट माग्न नआएको स्थानीय युवाहरुको गुनासो छ । ‘तल्लो भेगतिर उम्मेद्वारले मतदातासंग हात जोडेर, ढोगेर, बिन्तिभाउ गरेर भोट मागेका छन्’, चुमनुब्री ४ का फुर्बु ठिले भन्छन्, ‘हाम्रोतिर त भोटै नमागी जनताहरु भोट हाल्न बाध्य छन् । नमागीकन भोट दिन पर्नु त जनताको मतको अपमान हो ।’
सहरका मान्छेको पनि एकव्यक्ति एक भोट हो । गाउँका मान्छेको पनि एक व्यक्ति एक भोट हो । तर सहरमा एक भोट पाउन मतदातालाई त्यति मान सम्मान गर्नुपर्ने, तर भोटखोलाका बासिन्दाहरु माग्दै नमागेकालाई, चिन्दै नचिनेकालाई भोट हाल्न बाध्य हुनु दुखको कुरा भएको उनको भनाइ छ ।
‘चुनाबका बेला भोट माग्नु भनेको जनताको भोटको सम्मान गर्नु हो । तर माग्दै नमागी भोट हाल्न बाध्य हुनु भनेको जनमतको अपमान हो’, स्थानीय युवा फुर्बु ठिले भन्छन्, ‘उनीहरुलाई चाहिएका बेला भोट माग्न त आउँदैनन् भने जितेर गएपछि यहाँको समस्या समाधान गर्न फर्केर आउलान् भनेर कसरी पत्याउनु ? योभन्दा पहिले पनि जितेर गएकाहरु को फर्केर आए र ? त्यसैले हाम्रो गाउँलाई सबै पार्टीका नेता, कार्यकर्ताले साह्रै हेपेका छन् भन्ने हामी सबैलाई लागेको छ ।’
भोट माग्न कोही पनि नआएकाले गाउँलेहरु भोट हाल्न पनि नजान सक्ने सम्भावना रहेको उनको भनाइ छ ।




