
कांग्रेसले फिर्ता गर्ला त गोरखा २ मा २७ बर्षदेखि गुमेको विरासत
शिव उप्रेती ।
गोरखा २ को निर्वाचनमा लगालग तीन पटक जित हात पारेको कांग्रेस बिगत २७ बर्षदेखि चुनावी मैदानबाट रित्तो हात फर्कनु परेको छ । बाहिरकै उम्मेद्वार भए पनि २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले जित हात पारेको थियो । त्यसयताका हरेक चुनावमा गोरखा २ मा कांग्रेस सेकेण्ड रनरअपको हैसियतमा मात्र रहनु परेको छ ।
यो चुनावमा सर्वाधिक लोकप्रिय उम्मेद्वार दिएर चुनावी मैदानमा पठाएको दावी गर्ने कांग्रेसको नतिजा कस्तो आउला ? प्रतिक्षाको विषय छ । अहिले कांग्रेसबाट त्यहाँ प्रकाशचन्द्र दवाडी मैदानमा छन् । यसअघि गण्डकी प्रदेशसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै निर्वाचित दवाडीले आफूले पाउने सरकारी सेवा सुविधामा आफ्नो निजी कमाइसमेत थप गरी समाजसेवा गरेर लोकप्रियता कमाएका थिए ।
अहिले उनको लोकप्रियताले मात्र काम गर्ने अवस्था छैन किनभने, नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीजस्ता पार्टीभित्र र बाहिर पनि चर्चा कमाएका व्यक्तित्वहरु प्रतिस्पर्धामा छन् । गुरुङको बाहुल्यता रहेको त्यहाँ एमालेले पनि गुरुङ समुदायबाट मिलन गुरुङलाई उम्मेद्वार बनाएर धक्का दिएको छ ।
बिगत २०६४ र २०७० को संविधानसभा निर्वाचनमा यहाँबाट नेकपा(माओवादी) का उम्मेद्वार विजयी भए । २०७४ र २०७९ को निर्वाचनमा भने गठबन्धनले जित हात पा¥यो । यसपटक कस्तो रहला त्यहाँको चुनाव ? बहुप्रतिक्षित छ । चुनावी इतिहास अध्ययन गर्दा २०४८ को प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसकी मैयादेवी श्रेष्ठले १५,२०९ प्राप्त गरी विजय हात पारिन् । उनका निकटत्तम प्रतिद्वन्द्वी संयुक्त जनमोर्चाका सुरेश वाग्लेले १३,६८७ मत प्राप्त गरेका थिए ।
१,५८२ मतान्तरले श्रेष्ठ विजयी बनेकी थिइन् । जिल्लाका आकांक्षीहरुलाई पाखा लगाएर कांग्रेसले उनलाई चितवनबाट ल्याएर उम्मेद्वार बनाएको थियो । त्यस्तै २०५१ र २०५६ को चुनावमा पनि कांग्रेसले त्यो क्षेत्रको उम्मेद्वार पाएन । दुवै चुनावमा क्षेत्र नं. १ की कमला पन्तलाई उम्मेद्वार बनाएर जितायो । पन्तले २०५१ मा ८,१९७ मत प्राप्त गरी निर्वाचित भइन् । निकटत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका वाचस्पति देवकोटाले ६,६९३ मत प्राप्त गरेका थिए । १,५०४ मतको अन्तरमा उनले जितेकी थिइन् । त्यस्तै २०५६ मा पनि पन्तले ११,५४४ मत प्राप्त गरी निर्वाचित । निकटत्तम प्रतिद्वन्द्वी एमालेका प्रेम गुरुङले ११,१३१ मत प्राप्त गरेका थिए । जम्मा ४१३ मतको मतान्तरमा उनले जितेकी थिइन् ।
२०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा नेकपा(माओवादी)का उम्मेद्वार बाबुराम भट्टराईले ४६,२७२ मत प्राप्त गरी विजयी भए । निकटत्तम प्रतिद्वन्द्वी चन्द्रप्रसाद न्यौपानेले जम्मा ६,१७१ मत प्राप्त गरेका थिए । यति धेरै मतान्तरमा हारजित भएको यो नेपालकै चर्चित रेकर्ड थियो ।
२०७० को संविधानसभा निर्वाचनमा पनि माओवादीकै हितराज पाण्डेले २०,०७६ मत प्राप्त गरी निर्वाचित भए । त्यतिबेला पनि कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले १४,९७१ मत प्राप्त गरी पछि परे । २०७४ को निर्वाचनमा नयाँशक्ति पार्टीबाट पुनः बाबुराम भट्टराईले ३०,८०७ मत प्राप्त गरी विजयी भए । निकटत्तम प्रतिद्वन्द्वी माओवादीका नारायणकाजी श्रेष्ठले २४,९३३ मत प्राप्त गरेका थिए । २०७९ मा पुष्पकमल दाहाल(प्रचण्ड)ले २६,१०९ मत प्राप्त गरी विजयी भए । उनका निकटत्तम प्रतिद्वन्द्वी रास्वपाका कविन्द्र बुर्लाकोटीले १२,६३७ मत प्राप्त गरेका थिए ।
एकातिर बाँसका जराझैं फिँजिएका संगठित(क्रियाशील) कार्यकर्ताको भोट वैंकको आशामा कांग्रेस, नेकपा, एमालेका उम्मेद्वार जित्ने दाबी गर्दैछन्, अर्कातिर नयाँलाई जिताउने नयाँ पुस्ताको हुटहुटीको माहोलमा रास्वपा विश्वस्त छ । गोरखाको अवस्था अत्यन्त तरल अवस्थामा रहेकाले वास्तविक फैसला फागुन २१ गतेको मतदानले नै गर्नेछ ।
दुई लाख ३० हजार ४५४ कूल मतदाता रहेको गोरखाको क्षेत्र नं. २ मा एकलाख आठ हजार ५३३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




