| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीको सास्ती भूगोलको विकटता कि राज्यको उपेक्षा ?

गोरखाको उत्तरी सिमानामा रहेको चुमनुब्री गाउँपालिका आजको आधुनिक युगमा पनि सडक सञ्जालबाट नजोडिनु विडम्बनापूर्ण छ । प्राकृतिक, सांस्कृतिक सम्पदाले भरिभराउ यो क्षेत्र एकातिर पर्यटकीय सम्भावनाले उज्वल छ भने अर्कातिर दैनिक जीवनका आधारभूत आवश्यकताका लागि छटपटाइरहेको छ ।

समय समयमा पहिरोले बाटो थुनिँदाको सास्ती, टेलिफोन र इन्टरनेट नहुँदाको कष्टपूर्ण जनजीवन र सामान्य उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता चुमनुब्रीबासीका लागि दोहोरिरहने समस्या हो । तल्लो भेग (सुगम) र माथिल्लो भेग (दुर्गम) लाई एउटै डालोमा राखेर हेर्ने, एउटै बास्केटमा राखेर विकासका योजना बाँडफाँट गर्ने दृष्टिकोणले गर्दा नै चुमनुब्री सधैँ छायामा परेको देखिन्छ ।

जनघनत्वको कारण देखाउँदै विकासको बजेट र प्राथमिकता सुगम केन्द्रित हुँदा दुर्गमका बस्तीहरू झन् झन् पछि धकेलिँदै गएका छन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावमा बालबालिका र युवाहरू सहर पस्ने क्रम बढेसँगै गाउँहरू रित्तिँदै जानुले भविष्यमा त्यहाँको सामाजिक र सांस्कृतिक अस्तित्व नै संकटमा पर्न सक्ने सङ्केत गर्दछ ।

चुमनुब्रीको भौगोलिक जटिलता र विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न अब परम्परागत विकास मोडलले पुग्दैन । दुर्गम क्षेत्रलाई विशेष ध्यान दिनका लागि भौगोलिक अवस्थितिका आधारमा यस क्षेत्रलाई विशेष प्रशासनिक क्षेत्र वा छुट्टै जिल्लाको रूपमा विकास गरी स्रोत र साधनको सिधा पहुँच पु¥याउनु आवश्यक छ ।

सडक सञ्जाल नजोडिएसम्म यहाँको कृषि र पर्यटनले गति लिन सक्दैन । त्यसैले, ‘उत्तर–दक्षिण कोरिडोर निर्माणमा तीव्रता दिनु नै यस क्षेत्रका लागि प्राथमिक आवश्यकता हो । टेलिफोन, इन्टरनेट र स्वास्थ्य सेवालाई मौसमको भरमा नछोडी भरपर्दो बनाउन राज्यले विशेष लगानी गर्नुपर्छ ।

अहिले चुनावी माहोल छ । यस क्षेत्रबाट चुनाव जितेर जाने जो कोही उम्मेद्वारले यस्ता कुरालाई ध्यानमा राखी कार्यक्रम बनाउनु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्