
चुनावका बेला चुमभ्याली तीनदिनदेखि सञ्चार सम्पर्कबिहिन
देशभर चुनावको माहोल छ, तर उत्तरी गोरखाको चुमभ्याली बिगत तीनदिनदेखि सञ्चार सम्पर्कबिहिन हुँदा चुनावको चहलपहलबाट वञ्चित भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ६ का गाउँबस्ती र वडा नं. ७ का गाउँबस्ती गत मंगलबारदेखि इन्टरनेट र मोबाइलबिहिन भएको छेकम्पारका पासाङफुञ्जो लामाले जानकारी दिए ।
‘गाउँमा तीन दिनदेखि मोबाइल फोन पनि चल्दैन, फोरजी सेवा पनि चल्दैन’, पूर्व वडाअध्यक्षसमेत रहेका लामाले भने, ‘के बिग्रिएको हो कुन्नि ? टावरको टुप्पामा बल्ने बत्ती पनि बल्दैन ।’ फोन र इन्टरनेट दुवै नचल्दा लामो समयदेखि चुमभ्याली सञ्चार सम्पर्कबिहिन भएको उनको भनाई छ ।
हिमालपारिका गाउँबस्तीमा अहिले ल्होसार पर्व चल्दैछ । जाडो छल्न काठमाडौं झरेका सो भेगका बासिन्दा र गाउँमा रहेकाहरु बीच सञ्चार सम्पर्क नहुँदा ल्होसार खल्लो भएको अर्का स्थानीय दोर्जे लामाको भनाइ छ । ‘अहिले हाम्रो गाउँमा ल्होसार चलिरहेको छ । यतिबेला परिबारका आधाजसो सदस्यहरु काठमाडौंमा छन् । कोही विदेशमा पनि छन् । कोही घरमा छन्’, उनी भन्छन्, ‘जहान परिबार, इष्टमित्र संगै बसेर ल्होसार मनाउन नपाए पनि भिडियो कलमा हाँस्दैबोल्दै ल्होसार मनाउने गरिन्थ्यो । यो ल्होसारमा पाइएन ।’
चुनावका बेला गाउँमा फोन पनि इन्टरनेट पनि नचल्दा गाह्रो भएको चुमनुब्री ६ लोक्पाका सेराप गुरुङको भनाइ छ । ‘हामी हिमालपारि भोटखोलाका मान्छे, नेताहरु पनि गाउँमा आउँदैनन्, तल सहरतिर के के भइरहेको छ भनेर कुराकानी गर्न मोबाइल पनि बन्द भयो, इन्टरनेटमा हेर्न पनि पाइएन’, उनले भने, ‘अझै कति दिनसम्म सेवाबाट बञ्चित हुनुपर्ने हो थाहा छैन ।’ अहिलेसम्म यातायातको सेवा पनि नभएको र सञ्चार सम्पर्क पनि नहुँदा दुर्गमका बासिन्दा पीडित भएको उनको भनाइ छ ।
चुमनुब्री ६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, लोक्पा, यार्चोक, ताजु, खारगुम्बामा ८०५ जना बासिन्दाको बसोबास छ । चुमनुब्री ७ को छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, लार, फुर्पे, पाङदुन, छुले, निलेलगायतका गाउँमा ८१२ बासिन्दाको बसोबास छ । नेपाल टेलिकमको मोबाइल र एनटिसीकै फोरजी सेवा मात्र उपलब्ध यहाँ अहिले, फोन र इन्टरनेट नचल्दा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
नेपाल टेलिकम गोरखाका सन्दीप ढकालले भने फोन र इन्टरनेट बिहिन भएको बारे आफू जानकार रहेको भन्दै मर्मतसम्भारको प्रयास गरिरहेको जानकारी दिए ।




