| आइतवार, जेष्ठ १६, २०८३

जेनजी आन्दोलनबाट उदाएका गुरुङ संसद छिर्ने प्रयासमा

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात एकाएक चर्चामा आएका हुन् उनी । नेतृत्वविहीन आन्दोलनको मोर्चा सम्हाल्दै मूर्त नेतृत्व दिने उनै थिए । शुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र मन्त्रीपरिषद बिस्तारसम्म जोडिएका तीनै सुधन गुरुङ आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ का उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ उनले उम्मेदवारी दिएका हुन् ।

चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुख्र्र्याैली थलो भएपनि उनको जन्म काठमाडौंमा भयो । २०४४ सालमा जन्मिएका उनले गाउँले जीवनसँग घुलमिल हुने अवसर सायदै पाए । बाल्यकाल शहरमै बित्यो । पढाइ उतै गरे । मल्टी इन्टरनेशनल कलेजमा ‘ए लेवल्स’ को पढाइ सकेपछि विपद सम्बन्धि तालिम लिए अनि सहजकर्ताको रुपमा काम गर्न थाले ।

बिभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गए । सामाजिक कार्यमा अग्रसर हुन थाले । २०७२ सालको गोरखा भूकम्पपश्चात उनले ‘हामी नेपाल’ नामक संस्था खोले र राहत तथा उद्धारमा खटिए । देश बिदेशका बिभिन्न संघसंस्थासँग उनी जोडिन पुगे ।

‘शिक्षा, स्वास्थ्य, विपद र समाजमा देखिएको बिसंगति बिरुद्ध आवाज उठाउने उदेश्यसहित म एक्लैले यो संस्था खोले,’ गुरुङले भने, ‘पछि अरुहरु पनि जोडिदै जानुभयो ।’ २०७२ को भूकम्पमा उद्धार र राहतका कार्यक्रम लिएर गोरखासहित अन्य प्रभावित जिल्लाहरु पुगेको उनी बताउँछन् ।

घटनाक्रम अनुसारको बिभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरो जस्ता विपदमा मात्र नभइ कोभिडको समयमा पनि उनी आवद्ध संस्थाले बिभिन्न ठाउँमा सहयोग ग¥यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो ।

सामाजिक कार्यमा व्यस्त रहदै आएका उनलाई धेरैले चिन्दैनथे । जेनजी आन्दोलन पश्चात एकाएक चर्चामा आए । शुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रीमण्डल बिस्तारसम्म उनको बोलबाला चल्यो । आन्दोलनको सहारा लिदैं उनलाई राजनीति प्रवेश गर्ने रहर जाग्यो । अनि रास्वपा प्रवेश गरे । सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेको उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए ।

उनी यतिबेला चुनावी घरदैलो अभियानमा लिएर आफ्नो निर्वाचन क्षेत्र घुमिरहेका छन् । जेनजीका मागहरु पूरा गर्न आफू चुनावमा होमिएको उनी बताउँछन् । ‘जेनजीका मागहरु पुरा भएको छैन, अहिलेको अन्तरिम सरकारले पनि आन्दोलनको मर्म बुझ्न सकेन,’ उनले भने, ‘आन्दोलनमा होमिएकाले मात्र मर्म बुझ्न सक्छ भनेर म आफै चुनावमा उठेको हु ।’

आफ्नै गाउँठाउँबाट चुनाव लड्ने अठोटसहित उम्मेदवारी दिएको उनले बताए । भने, ‘काठमाडौंमा जन्मेपनि आफ्नो जरा समाउनुपर्छ भनेर गोरखा आए, जहाँ बिकास भएको छैन त्यहाँबाट जितेर राज्यको नजर पार्न यो क्षेत्र रोजेको हुँ ।’ जेनजी आन्दोलनपश्चात मात्र चर्चामा आएका गुरुङलाई चुनाव जित्न त्यति सहज देखिदैन ।

काठमाडौमा जन्मिएर उतै हुर्केका उनी आफ्नै पुख्र्यौली थलोसँग त्यति चिरपरिचित छैनन् । माओवादीको राम्रै वर्चश्व भएको सो क्षेत्रमा जीतका लागि राम्रै कसरत गर्नुपर्ने आवश्यक देखिन्छ । यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराज अधिकारी, समाजसेवीको रुपमा आफूलाई परिचित गराएका नेपाली कांग्रेसका प्रेम खत्री र एमालेका आरसी लामिछाने गुरुङका प्रतिस्पर्धी छन् । मतका आधारमा एमाले गोरखामा कमजोर रहेकाले गुरुङको मुख्य प्रतिस्पर्धीको रुपमा नेकपाका अधिकारी र कांग्रेसका खत्री देखिन्छन् ।

बिगतलाई फर्केर हेर्दा २०७४ सालको निर्वाचनमा गोरखा–१ मा कांग्रेस माओवादीसँग पराजित बनेको थियो । माओवादी र एमालेबीच चुनावी तालमेल हुदाँ कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग गठवन्धन गरेको थियो । २०७९ सालको निर्वाचनमा भने सो क्षेत्रमा कांग्रेस बिजयी बन्यो तर माओवादी केन्द्रसँग गठवन्धन गरेर । गोरखा २ प्रचण्डले लिए भने १ कांग्रेसको भागमा परेको थियो ।

तर अहिले दलहरुबीच चुनावी गठवन्धन छैन । उम्मेदवारहरुको असली परीक्षा यसपटक हुदैछ । प्रतिस्पर्धी दलहरुको सूचिमा रास्वपा पनि थपिएको छ । रास्वपाबाट उम्मेदवारी दिएका गुरुङ देश र गाउँको समस्या नै आफ्नो मुख्य प्रतिस्पर्धी रहेको बताउँछन् । ‘उम्मेदवारहरु मेरो प्रतिस्पर्धी होइनन्, गाउँको समस्यासँग मेरो प्रतिस्पर्धा हो,’ उनले भने ।

आन्दोलनबाट आएकाले आफूले सबैको ‘सर्पाेट’ पाउने उनको अपेक्षा छ । अन्तरिम सरकार गठनपश्चात मन्त्री बन्ने अवसरलाई इन्कार गरेको बताउँदै उनले आफूमा कुनै लोभ लालच नभएको जिकिर गरे । भने, ‘जेनजी आन्दोलनमा देशको समस्याप्रति उभिने पहिलो व्यक्ति हुँ म, देशको समस्याप्रति मात्र म केन्द्रीत छु, त्यसैले सबैले सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ ।’

प्रतिक्रिया दिनुहोस्