
हिमालपारिको सामागाउँमा तीन महिनापछि विजुली बल्यो
अन्धकारमा रात बिताउन थालेको तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बल्ल विजुली बत्ती बाल्न पाएका छन् । बिग्रिएको सामागाउँ लघुजलविद्युत आयोजनाको उपकरण मर्मत सम्भारपछि केही दिन अघिदेखि बत्ती बाल्न थालिएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।
हिमालपारि अवस्थित सामागाउँ र साम्दोका बासिन्दा ल्होसारमा विजुली बत्ती बाल्न पाएपछि खुशी भएका छन् ।
मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका १ मा अवस्थित सामागाउँ र साम्दोसम्म मोटरबाटो छैन । ‘धेरै सकस ब्यहोरेर बल्लतल्ल मर्मत गरियो’, लामाले भने, ‘नेपालमा मर्मत हुन सकेन । भारतबाट सामान झिकाएर मर्मत गर्दा समय पनि धेरै लाग्यो ।’
मोटरबाटो नपुगेको सो गाउँमा मर्मत गरिएको उपकरण हेलिकोप्टरमा ढुवानी गरेर गाउँमा पु¥याइएको उनको भनाइ छ ।
‘गाउँमा मोटरबाटो छैन । खच्चडले बोक्न सक्दैन त्यसैले बिग्रिएको उपकरण मर्मत गर्न ल्याउँदा पनि हेलिकोप्टरबाटै ढुवानी गरेर ल्याइएको हो । मर्मत गरेर लैजाँदा पनि हेलिकोप्टरबाटै ढुवानी गरिएको हो’, सामागाउँका वडाअध्यक्ष कर्मा छेवाङले भने, ‘हेलिकोप्टरमा ढुवानी गर्दा ज्याला पनि निकै धेरै लाग्यो । जे भए पनि ल्होसारमा बत्ति बाल्न पाइयो । गाउँलेहरु सबै खुशी भएका छौँ ।’
चुमनुब्री १ सामागाउँ र साम्दोका करिब तीनसय घरधुरी बासिन्दाका लागि कादुरी नामक संस्थाले पाँचबर्षअघि सामागाउँ जलविद्युत आयोजनाबाट १०० किलोवाट क्षमताको विद्युत उत्पादन गरेको थियो ।




