| शुक्रबार, अशोज ८, २०८३

फुटबलमा गोरखाको फड्को

ऐतिहासिक जिल्ला गोरखामा अचेल खेलकुदको रौनक छ । हालै जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न सर्वाधिक पुरस्कार राशिको ‘पृथ्वीनारायण कप’ फुटबल प्रतियोगिताले जिल्लामा जुन रौनक ल्यायो, त्यसले गोरखाको खेलकुद गरिमालाई राष्ट्रियस्तरमा पु¥याएको छ । प्रथम पुरस्कार आठ लाख रुपैयाँ रहेको उक्त प्रतियोगितामा ए डिभिजनका अनुभवी खेलाडीहरूको सहभागिता हुनुले गोरखा अब केवल दर्शकको केन्द्र मात्र रहेन, बरु व्यावसायिक फुटबलको उत्कृष्ट रणभूमि पनि बन्दैछ भन्ने प्रमाणित गरेको छ ।

एउटा ठूलो उत्सव समापन हुन नपाउँदै आइतबारबाट हरमटारी क्लबको आयोजनामा सुरु भएको ‘गोर्खाली कप’ ले यो उत्साहलाई थप उचाइ दिएको छ । खेलकुदको विकासका लागि कुनै एक भव्य आयोजना मात्र पर्याप्त हुँदैन, त्यसको निरन्तरता र नियमितता मुख्य कडी हो । गोरखामा एकपछि अर्को गर्दै भइरहेका यस्ता प्रतियोगिताहरूले जिल्लालाई विस्तारै ‘फुटबलरहरूको जिल्ला’ का रूपमा चिनाउने बलियो आधार तयार पारेका छन् ।

ठूला क्लब र ए डिभिजनका खेलाडीसँग मैदान साझा गर्न पाउँदा स्थानीय युवा खेलाडीहरूको आत्मविश्वास र प्राविधिक क्षमतामा वृद्धि हुन्छ । नियमित खेलकुद गतिविधिले आन्तरिक पर्यटक भित्र्याउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पु¥याउँछ । ठूलो धनराशिका पुरस्कार र व्यवस्थित आयोजनाले खेललाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी व्यावसायिक मार्ग प्रशस्त गर्दछ ।

यद्यपि, प्रतियोगिताको आयोजना हुनु मात्र अन्तिम लक्ष्य होइन । खेलाडी उत्पादनका लागि तल्लो तहदेखि नै प्रशिक्षण (एकेडेमी) र व्यवस्थित खेल मैदानको उपलब्धतामा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । आयोजक क्लबहरू, स्थानीय सरकार र खेलप्रेमीहरूको यो सहकार्यले निरन्तरता पाएमा, त्यो दिन टाढा छैन जब राष्ट्रिय टोलीमा गोरखाको प्रतिनिधित्व मजबुत हुनेछ ।
हरमटारी क्लबलाई ‘गोेर्खाली कप’ को भव्य सफलताको शुभकामना दिँदै, खेलकुदको यो लहरलाई जिल्लाको पहिचान बनाउन सबै पक्ष जुट्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्