| सोमवार, कार्तिक २३, २०८३

बिभिन्न धर्मालम्वी मिलेर छेवेटार खेलमैदानमा गरे सामूहिक पुजा

गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलमैदानमा बिभिन्न धर्मालम्वीहरुले एकसाथ बिशेष पुजा गरेका छन् । आइतवार बिहान हिन्दु, क्रिश्चियन, मुश्लिम, बौद्ध लगायतका धर्मालम्वीहरु मिलेर सामूहिक पुजा गरेका हुन् ।

छेवेटारलाई खेलकुद हब बनाउने उदेश्य प्राप्तिका लागि पुजा गरिएको वडाध्यक्ष प्रदिप कुँवरले बताए । ‘यो बगरलाई खेलकुद हब बनाउने उदेश्यसहित सुर्याेदय युवा परिवार र यहाँका स्थानीय सबै लागि परेका थियौ,’ उनले भने, ‘बिभिन्न वाधा अड्चन पार गर्दै खेलमैदान बनायौ र राष्ट्रिय स्तरको प्रथम पृथ्वीनारायण गोल्डकप समेत गर्न सफल भयौ ।’

बगरलाई खेलमैदानमा परिणत गरि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मको प्रतियोगिता गर्न सफल भएको अवसरमा पुजा आयोजना गरिएको उनले बताए । ‘बौद्ध, क्रिश्चियन, हिन्दु, इस्लाम लगायतका बिभिन्न धर्मका गुरुहरुले एकसाथ पुजा गर्नुभयो, सबै धर्म र जातजाती सहभागी थिए,’ उनले भने । खेल क्षेत्रको बिकासका लागि सबै एक छौ भन्ने सन्देश दिनका लागि पनि सामूहिक पुजा आयोजना गरिएको उनले जानकारी दिए । क्षमा पुजाको रुपमा पनि यसलाई हेरिएको बताइएको छ ।

वडाध्यक्ष कुवँरलाई सहभागी गुरुहरुले खादा ओडाएर सम्मान समेत गरेका थिए । उक्त खेलमैदान नजिकै हाल कवर्ड हल निर्माणको काम भइरहेको छ भने प्याराफिट निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट बजेट समेत विनियोजन भइसकेको छ । क्रिकेट मैदान समेत निर्माणको चरणमा रहेको वडाध्यक्ष कुवँरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्