
गोरखामा निर्वाचन आचारसंहिताको धज्जी
प्रतीक्षा आले ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा जिल्लाका राजनीतिक दलहरुले आचारसंहिताको धज्जी उँडाएको पाइएको छ । जिल्लाको दुवै क्षेत्रका विभिन्न पार्टीका उम्मेदवार, नेता तथा कार्यकर्ताहरुले आचारसंहिता २०८२ को उल्लंघन गरेको पाइएको हो ।
गोरखामा केही राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरुले आचारसंहिता विपरीत पार्टीको लोगो, टिसर्ट तथा टोपी लगाएर चुनावी प्रचारप्रसार गर्दै हिँडेको भनी उजुरी पर्न आएको जिल्ला निर्वाचन आचारसंहिता अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
‘चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दल वा उम्मेदवारले आचार संहिता उल्लंघन गरेको भनेर उजुरीहरु पर्न थालेका छन्’, सप्रजिअ शर्माले भने, ‘उजुरी पाउने वित्तिकै हामीले सम्बन्धित पार्टीलाई पत्राचार गरी सचेत गराउने, स्पष्टिकरण सोध्ने गरेका छौँ ।’ विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका विरुद्ध उजुरी परेको उनले बताए ।
नेपाली कांग्रेसका उम्मेद्वार प्रेम खत्रीको प्रचार समूहले बाजागाजासहित प्रचार प्रसार गरेको भन्दै उजुरी परेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सुदन गुरुङ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार हरिराज अधिकारीको प्रचार टोलीले बाजागाजासहित निर्वाचन चिन्ह अङ्कित टोपी, टिसर्ट लकेट आदि लगाएर प्रचार प्रसार गरेको भन्दै उजुरी परेको छ ।
निर्वाचन आचार संहिता २०८२ को परिच्छेद २, बुँदा नं. ४ को घ मा ‘राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन चिन्ह अंकित ज्याकेट, भेष्ट, टिसर्ट, कमिज, टोपी, मास्क, गम्छा, लकेट वा विभिन्न किसिमका पहिरन, लोगो, स्टीकर, झोला, व्याज, ट्याटुलगायत सांकेतिक सामाग्री उत्पादन, प्रयोग र बिक्री वितरण गर्न नपाइने’ उल्लेख छ ।
तर, जिल्लाका कतिपय राजनीतिक दलहरुले खुलेआम राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङिकत टिसर्ट, लोगो तथा टोपी लगाएर चुनावी प्रचारप्रसारमा हिँडेका छन् । उम्मेदवार तथा कार्यकर्ताहरु चढेका गाडीमा ठूला–ठूला झण्डा हल्लाउँदै आचारसंहिता विपरीतका गतिविधिहरु गरेका छन् ।
‘प्रचारप्रसारका क्रममा २५ जनाभन्दा धेरैजनाको टोली सामुहिक रुपमा हिँड्न पाइँदैन, बाजागाजा बजाउने, नाचगान गर्ने लगायत गतिविधि पनि गर्न पाइँदैन । राजनीतिक दलहरुले यस्ता क्रियाकलापहरु गरिरहेको भनी मौखिक तथा फोनमार्फत धेरै उजुरी परेका छन् । हामीले उजुरी पर्ने बित्तिकै सम्बन्धित दललाई फोन गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छौँ’, आचार संहिता अनुगमन अधिकृत तथा सप्रजिअ शर्माले भने ।
जिल्ला निर्वाचन आचारसंहिता समितिले आफैँले पनि सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका कार्यहरु गरेको थाहा पाएर राजनीतिक दलहरुलाई नियम पालना गर्न भन्दै आएको शर्माले बताएका छन् । आचारसंहिता पालनामा कमजोरी देखिएपछि विषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको सप्रजिअ शर्माको भनाइ छ । ‘आचारसंहिता पालना नभएको विषय शुक्रबार बैठकमा राम्ररी छलफल गर्नेछौँ’, उनले भने ।




