
कार्यसम्पादनमा गोरखा नगरपालिका उत्कृष्ठ, पालुङ्टार सबैभन्दा कमजोर
गोरखाका ११ वटा स्थानीय तहमध्ये गोरखा नगरपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थानमा देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार गोरखा नगरपालिकाले ६९.३४ अंक प्राप्त गर्दै जिल्लाका स्थानीय तहहरुमध्ये उत्कृष्ट स्थान हासिल गरेको हो । आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर गरेको मूल्यांकनमा ६७.६३ अंक प्राप्त गरी अजिरकोट गाउँपालिका दोस्रो स्थानमा छ ।
जिल्लाको सबैभन्दा दुर्गममा अवस्थित चुमनुब्री गाउँपालिका ६४.९२ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने ५१.८७ अंक प्राप्त गरी पालुङटार नगरपालिका सबैभन्दा पछाडि अर्थात एघारौं स्थानमा परेको छ । गण्डकी गाउँपालिका ६४.०३ अंकका साथ चौथो स्थानमा परेको छ भने सहिद लखन गाउँपालिकाले ६२.५९ अंक प्राप्त गरी पाँचौं, ६०.३४ अंक प्राप्त गरी धार्चे छैठौँ स्थानमा परेको छ । ६०.३१ अंक प्राप्त गरी बारपाक सुलिकोट सातौं, ५९.५३ अंक प्राप्त गरी आरुघाट आठौं, ५९. ३७ अंक प्राप्त गरी सिरानचोक नवौं, ५७.३३ अंक प्राप्त गरी भीमसेनथापा गाउँपालिका दशौं स्थानमा परेको छ ।
आयोगले आर्थिक वर्ष २०८१÷८२ को बजेट समयमै सार्वजनिक गरे नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था र बेरुजु जस्ता प्रशासनिक तथा वित्तीय पक्षलाई मूल्यांकनको मुख्य आधार बनाएको थियो । यसका साथै शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई पनि आयोगले अंक प्रदान गरेको छ । कक्षा ९ मा विद्यार्र्थी टिकाउ दर, विद्यार्थी भर्ना दर, एसईईको नतिजा, खोप लगायतका बालबालिकाको अनुपात र गर्भ जाँच गर्ने महिलाको संख्यालाई समेत मूल्यांकनको सूचक बनाइएको थियो । स्थानीय तहले असार १० भित्र बजेट सार्वजनिक गरे नगरेको र असार मसान्तभित्र बजेट पास गरे नगरेको विषयले नतिजामा महत्वपूर्ण भूमिका खेलेको छ ।
आयोगले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने हिस्सा समयमै बुझाए नबुझाएको विषयलाई पनि हेरेको छ । आगामि वर्षको बजेट प्रक्षेपण र बजेट समीक्षा समयमै गरे नगरेको आधारमा पनि स्थानीय तहको कार्यक्षमता मापन गरिएको हो । आयोगले प्रत्येक वर्ष गर्ने यस्तो मूल्यांकनको नतिजाका आधारमा नै स्थानीय तहहरूले संघीय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानको परिमाण तय हुने गर्दछ ।




