| सोमवार, कार्तिक २३, २०८३

गोरखामा सुरु भयो मतदाता शिक्षा कार्यक्रम, प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा गोरखामा पनि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले बुधबार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्लाको सबै स्थानीय तहका निर्वाचन फोकल पर्सनहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम दिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले बताए । निर्वाचन कार्यालयको आयोजनामा ११ वटै पालिकाबाट एक–एक जना स्रोत व्यक्तिलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको उनले जानकारी दिए ।

स्थानीय तहहरुले आफ्नो पालिका अन्तरगतका सबै वडाहरुमा १/१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षामा खटाउनका लागि चयन गर्नेछ । बुधबारको तालिमबाट प्रशिक्षित प्रशिक्षकले आफ्नो पालिकाको प्रत्येक वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण गराउने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । फागुन २ गते भित्र पालिकाको महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षण गराइसक्नु पर्ने कार्यक्रम रहेको सूचना अधिकारी सुवेदीको भनाई छ ।

तालिम दिए लगत्तै महिला स्वास्थ्य स्वयंसेविकाहरुले मतदाता शिक्षा सञ्चालन गर्ने उनले बताएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुले फागुन ३ गतेदेखि १७ गतेसम्ममा आफ्नो वडाका प्रत्येक टोल, विद्यालय तथा नागरिकहरुको घर घरमा पुगेर सहि तरिकाले मतदान गर्ने तरिका, आचार संहिता, निर्वाचन ओयोगका आधिकारिक सोसल मिडिया लगायतको विषयमा जानकारी गराउने कार्यालयको भनाई छ ।

जिल्ला निर्वाचन आचारसंहिता अधिकृत नेत्रप्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी धनेश्वर पौडेल र जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहजिकरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्