
मतदाता कोही विदेश, कोही सहर, भर्चुअल माध्यमबाट भोट माग्दै उम्मेद्वारहरु
चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका उम्मेद्वार, नेता, कार्यकर्ताहरु भोट माग्न गाउँबस्ती चाहारिरहेका छन् । घर दैलो गरिरहेका छन् । तर उम्मेद्वारले गाउँघरमा पहिलेजस्तो खचाखच मतदाता भेट्न पाएका छैनन् । न मतदाताहरु उम्मेद्वार भेट्ट लालयित छन् ।
ग्रामीण भेगका अधिकांश युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुका आफन्त स्थायी तथा अस्थायी बसाइँसराइ गरी सहर झरेका छन् । अधिकांश गाउँहरुमा वृद्धवृद्धा मात्र बाँकी छन् । गाउँ सुनसानप्रायः भएको छ । गाउँबस्तीको बदलिँदो परिवेशमा उम्मेद्वार, नेता कार्यकर्ताहरुले भोट माग्न पनि नयाँ तौरतरिका अपनाउन थालेका छन् । सबै पार्टीका उम्मेद्वारले काठमाडौंमा सचिवालय स्थापना गरी सचिवालयबाटै विदेशमा र देशका ठूला सहरहरुमा रहेका मतदातासंग भर्चुअल माध्यमबाट भोट मागिरहेका छन् ।
‘गाउँका मान्छे गाउँमा भन्दा विदेशमा र सहरमा धेरै छन् । बदलिँदो परिवेशमा पुरानै तरिकालेमात्र भोट मागेर सम्भव छैन’, नेपाली कम्युुनिष्ट पार्टीका गोरखा १ का चुनाव प्रसारप्रसार संयोजक परशुराम रम्तेल भन्छन्, ‘त्यसैले हाम्रो पार्टीका दुवै क्षेत्रका उम्मेद्वारहरु र चितवनमा बसोबास गर्ने गोरखाका मतदाताहरुसंग आजै भेटघाट कार्यक्रम सम्पन्न भयो ।’ चितवनको बसेनीस्थित एक पार्टी प्यालेसमा मतदातासंग भेटघाट कार्यक्रम गरेको उनको भनाइ छ ।
विभिन्न संपर्क मञ्च, सम्पर्क समितिहरुको समन्वयमा यसअघि काठमाडौमा बस्ने गोरखा १ का मतदातासंग पनि भेटघाट कार्यक्रम गरिसकेको उनको भनाइ छ । नेपाली कांग्रेसका गोरखा १ र २ का उम्मेद्वारहरुले पनि काठमाडौंमा बसोबास गर्ने आ–आफ्ना क्षेत्रका मतदातासंग भेटघाट कार्यक्रम गरिसकेका छन् । ‘काठमाडौंमा धेरै मतदाता रहेकाले दुवै क्षेत्रका उम्मेद्वारको काठमाडौंमा सचिवालय नै खोलेर प्रचारप्रसार गरेका छन्’, थापाले भने, ‘काठमाडौं बस्ने मतदाताहरुसंग पहिलो चरणको भेटघाट कार्यक्रम सक्किसकेको छ । फेरि फागुन २ गते काठमाडौंका मतदातासंग भेटघाट कार्यक्रम छ । पोखरामा रहनु भएका मतदातासंग यही माघको २३ गते भेटघाट र प्रचारप्रसार कार्यक्रम रहेको छ ।’
पार्टीका विद्यार्थी संगठन, समन्वय समिति, सम्पर्क समितिहरुको सहयोगमा काठमाडौं, चितवन, पोखरामा भेटघाट गरी भोट माग्ने कार्यक्रम भइरहेको थापाले जानकारी दिए । नेकपा एमालेले पनि काठमाडौं, पोखरा र चितवनका मतदातासंग भोट माग्ने कार्यक्रम गरिरहेको क्षेत्र नं. २ का इञ्चार्ज बाबुराम थापाको भनाइ छ । ‘काठमाडौंमा सम्पर्क मञ्च, सम्पर्क कमिटी, सम्पर्क विभागहरु छन् । उनीहरुलाई उतै भोट माग्न भ्याइनभ्याइ छ’, थापा भन्छन्, ‘चुनावका बेला त्यहाँका मतदाता कसरी ल्याउने लाने भन्ने व्यवस्था पनि मिलाइरहेका छन् ।’
पछिल्लो समय उदियमान राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गाउँबस्ती र सहरकेन्द्रीत प्रचारप्रसारलाई तिब्रता दिइरहेको छ । ‘हाम्रो पार्टीको विशेषगरी काठमाडौं, चितवन र पोखरामा सम्पर्क विभाग छन्, सम्पर्क समिति छ’, जिल्ला सचिव मिलन राना भन्छन्, ‘विभाग र सम्पर्क समितिले काठमाडौंमा गत १९ गते पहिलो चरणको भेटघाट र भोट माग्ने काम सम्पन्न गरिसकेको छ ।
तवनमा बसोबास गर्ने मतदातासंग पनि दुवै उम्मेद्वारले यही माघ २४ गते भेटघाट गर्ने कार्यक्रम छ ।’ गाउँका मतदाता गोरखा बजारमा पनि रहेकाले गोरखा बजारमा पनि भेटघाट कार्यक्रम राखिएको उनले बताए । सचिवालयले सामाजिक सञ्चाल तथा वैकल्पिक मिडियाको प्रयोग गरी देश, विदेशमा रहेका मतदातासंग भोट माग्ने, प्रचार प्रसार गर्ने कामलाई तिब्रता दिएको पार्टीहरुले जानकारी दिएका छन् ।




