| शुक्रबार, बैशाख १७, २०८३

गोरखाका अरु दुई पुल पनि निर्धारित समय अगावै निर्माण सम्पन्न

प्रतीक्षा आले ।
निर्माण कार्य सुरु भएको तीन महिनामै चुक्तीखोला पुल बनेजस्तै गोरखाको अरु दुई पुल पनि सम्झौतामा उल्लेख भएको समयभन्दा अघि नै निर्माण सम्पन्न भएका छन् । पालुङटार नगरपालिका–८ स्थित सलाङ्गीरि सिल्ली खोला मोटरेबल पुल निर्धारित समयमा नै सम्पन्न भएको हो । बुटवलको गणेश एण्ड सन्स् कन्स्ट्रक्सनले २०८० को चैतमा जिम्मा लिएको सो पुल निर्माणको काम हाल सम्पन्न भएको हो ।

गोरखा नगरपालिका वडा नं १४ र पालुङटार नगरपालिका वडा नं ८ जोड्ने उक्त पुल निर्माणको काम यही कात्तिक मसान्तमा सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर मोहन श्रेष्ठले बताए । एक करोड ६६ लाखमा पुल निर्माणको सम्झौता भएको उनले जानकारी दिए । उनकाअनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरेको थियो ।

‘निर्माण कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गरेको छ’, उनले भने । सलाङ्गीरि सिल्ली खोला पुलको लम्बाइ ११ मिटर छ भने चौडाइ ८.४० मिटर रहेको इन्जिनियर श्रेष्ठको भनाइ छ । यस्तै, पालुङटार नगरपालिका वडा न ८ को टाँडीखोला पुल निर्माणको काम पनि निर्धारित समयमै सम्पन्न भएको हो । चक्रदेवी/आमा जेभी कम्पनीले यही माघ पहिलो हप्तामा पुल निर्माणको काम सम्पन्न गरेको हो ।

टाँडीखोलामा मोटरेबल पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग २०८१ जेठ ११ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । दुईकरोड २५ लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गरेको कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । पुलको लम्बाइ १६ मिटर छ भने चौडाइ ८.४० मिटर रहेको उनले जानकारी दिए ।
ठेकेदार कम्पनीहरुले निर्धारित समयमै काम सम्पन्न गर्नु सुखद रहेको इन्जिनियर श्रेष्ठ बताउँछन् ।

जिल्लाको तल्लो क्षेत्रमा विकास निर्माणका कामहरु संचालन गर्न सहज हुने भएकाले पनि निर्धारित समयभित्रै काम सम्पन्न हुने गरेको उनले बताएका छन् । उनी भन्छन्, ‘माथिल्लो क्षेत्रहरुमा भौगोलिक विकटताका कारण निर्माण सामाग्री सहजै उपलब्ध नहुने अवस्था छ । तल्लो क्षेत्रमा निर्माण सामग्री सहजै उपलब्ध गराउन सकिने भएकाले पनि विकास निर्माण सहज भएका छन् ।’ अन्य केही पुलहरु पनि निर्माण सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्