| सोमवार, कार्तिक २३, २०८३

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सह्रानीय काम

विश्व स्वास्थ्य परिदृश्यमा अहिले सर्ने रोगभन्दा नसर्ने रोगहरू ठूलो चुनौतीका रूपमा देखा परेका छन् । तीमध्ये पनि ‘क्यान्सर’ यस्तो भयावह नाम बनेको छ, जसले परिवारको खुसी र अर्थतन्त्र दुवैमा ठूलो क्षति पु¥याइरहेको छ । ढिलो पहिचान हुनु र उपचार पद्धति महँगो एवं जटिल हुनुले क्यान्सरलाई अझ घातक बनाएको छ । यस्तो अवस्थामा क्यान्सरको उपचारभन्दा पनि यसको ‘रोकथाम’ नै उत्तम विकल्प हो भन्ने तथ्यलाई आत्मसात् गर्नु अनिवार्य छ ।

यसै सन्दर्भमा, नेपाल सरकारले हाल १२ देखि १५ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी ‘पाठेघरको मुखको क्यान्सर’ विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ, जुन अत्यन्तै सह्रानीय र दूरगामी कदम हो । पाठेघरको मुखको क्यान्सर नेपाली महिलाहरूमा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा पर्दछ । समयमै दिइने यो खोपले भविष्यमा हुनसक्ने ठूलो मानवीय क्षतिलाई रोक्ने सुनिश्चित छ । यो अभियानले स्वास्थ्य क्षेत्रमा ‘उपचारभन्दा रोकथाम जाति’ भन्ने मान्यतालाई व्यवहारमै उतारेको छ ।

तर, क्यान्सरको जोखिम पाठेघरको मुखमा मात्र सीमित छैन । फोक्सो, कलेजो, स्तन, रगत र प्रोस्टेट जस्ता विभिन्न अंगहरूमा हुने क्यान्सरले पनि उत्तिकै भयावह रूप लिइरहेका छन्। आधुनिक विज्ञानले केही प्रकारका क्यान्सरहरूलाई खोप वा प्रारम्भिक स्क्रिनिङमार्फत नियन्त्रण गर्न सकिने प्रमाणित गरिसकेको छ । उदाहरणका लागि, ‘हेपाटाइटिस बीु को खोपले कलेजोको क्यान्सरको जोखिमलाई उल्लेख्य रूपमा कम गर्दछ ।

अबको आवश्यकता भनेको पाठेघरको मुखको क्यान्सरको खोपलाई नियमित खोप तालिकामा समावेश गर्नु मात्र होइन, बरु अन्य अंगका क्यान्सरविरुद्धका अनुसन्धान र खोपहरूलाई पनि क्रमशः जनस्तरमा पु¥याउनु हो । सरकारले विश्वव्यापी रूपमा विकसित भइरहेका नयाँ खोप र प्रविधिहरूलाई पछ्याउँदै नागरिकलाई क्यान्सरको त्रासबाट मुक्त गराउने दीर्घकालीन रणनीति बनाउनुपर्छ ।

क्यान्सर विरुद्धको लडाइँ केवल अस्पतालको शैयामा बसेर मात्र जित्न सकिँदैन । यो त विद्यालय, समुदाय र खोप केन्द्रहरूबाटै सुरु हुनुपर्छ । हाल सञ्चालित किशोरी लक्षित खोप अभियानलाई एउटा सफल प्रस्थानविन्दु मान्दै, भविष्यमा सबै उमेर र वर्गका नागरिकलाई विभिन्न प्रकारका क्यान्सरको जोखिमबाट बचाउन व्यापक खोप अभियान र जनचेतना फैलाउनु राज्यको दायित्व हो । क्यान्सरमुक्त समाज निर्माण गर्ने यो महाअभियानमा नागरिक समाज, सञ्चारमाध्यम र अभिभावकहरूको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्