| शनिबार, बैशाख २५, २०८३

विदेशी पर्यटक, ट्रेकिङ कम्पनी, गाइड र हेलिकोप्टर कम्पनीलाई कारबाही

गोरखाको चुम उपत्यकामा अनाधिकृत रुपमा हेलिकोप्टर उँडान गर्ने अल्टिच्यूड कम्पनीको हेलिकोप्टर कम्पनीलाई गृहमन्त्रालय ले कारबाही गरेको छ । बिना अनुमति चुम उपत्यकाको छेकम्पारबाट दुई अष्ट्रियन नागरिकसहित नेपाली पथप्रदर्शकलाई उद्धार गर्न गएको भन्दै गृहमन्त्रालय ले कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
‘गृहमन्त्रालयले तय गरेको हेलिकोप्टर उँडान कार्यप्रक्रिया २०७५ बिपरीत उँडान गरेकाले कारबाही प्रक्रिया अघि बढाएको हो’, सुवेदीले भने, ‘अनुमति प्राप्त हेली एभरेष्ट कम्पनीको हेलिकोप्टरमा प्राबिधिक समस्या आएकाले अल्टिच्यूडको हेलिकोप्टर उँडाइएको भनेर मौखिक जवाफ त दिएका छन्, तर सबै प्रमाणसहित स्पष्टीकरण माग गर्दै हामीले पत्राचार गरेका छौं ।’
उनीहरुको उद्धारका लागि हेलि एभरेष्टले जिल्ला प्रशासन कार्यालय गोरखा र गृहमन्त्रालयसंग अनुमति लिएको थियो । ‘तर बुधबार बिहान अल्टिच्यूड कम्पनीको हेलिकोप्टरले बिना जानकारी अनुमति नै नलिएका मान्छेको उद्धार गरेछ’, गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘त्यसैले हामीले कारबाहीका लागि सिफारिस र आवश्यक कागजपत्र मन्त्रालयमा पेश गरेका छौं ।’ राज्यको नियम कानून उल्लंघन गर्न खोज्नेलाई कारबाही गर्ने उनले बताए ।
प्रतिवन्धित क्षेत्र अन्तर्गत पर्ने चुम उपत्यकाको निलेसम्मको भ्रमण अनुमति लिएका दुई अष्टिूयन नागरिक र एक पथप्रदर्शक अनुमति नलिई तिब्बतको सीमानामा रहेको म्हुगुम्बासम्म पुगेका थिए । उनीहरुलाई पनि कारबाहीका लागि सिफारिस गरिएको प्रजिअ भट्टराईले बताए । ‘विदेशी नागरिक अनुमति प्राप्त ठाउँभन्दा माथिको संवेदनशील क्षेत्रमा केही दिनदेखि शिविर बनाएर बसेको भेटियो’, प्रजिअ भट्टराईले भने, ‘त्यसैले ती पर्यटक, पथप्रदर्शक, उनीहरु संवद्ध टूेकिङ कम्पनी र उनीहरुलाई उद्धार गर्ने हेलिकोप्टर कम्पनीलाई कारवाहीका लागि अध्यागमन बिभागमा पत्राचार गरेका छौं ।’
म्हुगुम्बा उनीहरुले अनुमति लिएको छुले निलेबाट १० किलोमिटर उत्तर तिब्बततर्फ पर्छ । अष्ट्रियन पर्यट फ्रानजिस्का निडोस्पियल नामकी महिला बिरामी भएर उद्धारका लागि हेलिकोप्टर माग भएपछिमात्रै उनीहरु अनुमति बिना निशेधित क्षेत्रमा पुगेको खुलेको थियो ।
प्रशासनले उनी सहित नाम नखुलेका अर्का अष्टिूयन नागरिक र नेपाली पथप्रदर्शक मिङ्मा छिन्दुक शेर्पालाईसमेत कारवाही गर्न अध्यागमन विभागलाई पत्राचार गरेको हो । उनीहरुको यात्राको ब्यबस्थापन गर्ने टूेकिङ कम्पनी सेभेन समिट टूेक्स प्रालिलाई पनि कारवाहीका लागि पत्र पठाइएको प्रजिअ भट्टराईको भनाई छ ।
गोरखाको मनासलु संरक्षण क्षेत्रलाई सरकारले निषेधित क्षेत्रको रुपमा राखेको छ । त्यहाँको भ्रमण गर्न चाहने विदेशी पर्यटकले अध्यागमन विभागबाट भ्रमण अवधी र स्थान खुलाएर अनुमति लिनु पर्ने ब्यवस्था छ ।
तोकिए भन्दा फरक ठाऊँसम्म भ्रमण गरेकाले उनीहरु लाई कारवाही गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्