| आइतवार, कार्तिक २२, २०८३

अजिरकोटको अलैँचीले पुनर्जीवन पाउँदै

प्रतीक्षा आले ।
मासिँदै गएको अजिरकोट गाउँपालिकाको अलैँची खेतीले केही समययता पुनर्जीवन पाउन थालेको छ । रोग किराले अलैचीखेती मासिएपछि बिस्तारै हराउँदै गएको यहाँको अलैँची खेती अहिले पुनः सुरु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

किसानहरुले मासिएको अलैँची बारीमा स्वस्थ बेर्ना उत्पादन गर्न थालेका अजिरकोट गाउँपालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताए । पालिकाको वडा नं २ खरिबोट र वडा नं ३ हंसपुरका किसानहरु अलैँची खेतीमा पुनः जुटेका उनले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रलाई पालिकाले अलैँची पकेट क्षेत्र घोषण गरेर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

गाउँपालिकाभर करिब ३० जना किसानहरु व्यवसायिक अलैँची खेतीमा आवद्ध रहेको उनले बताएका छन् । धानखेती मासेर अलैची खेती गरेका पालिकाका किसानहरुले फेरि केही वर्षयता अलैँची मासेर धान खेती सुरु गरेका थिए । किसानहरुले उचित रुपमा बगैँचा व्यवस्थापन नगर्दा अलैँची खेती मासिँदै गएको थापाको भनाइ छ ।

‘बगैँचा व्यवस्थापन नहुँदा अलैँचीमा विभिन्न रोग तथा किरा लाग्न थालेपछि किसानहरु चिन्तित भएका थिए । कतिपयले अलैँची मासेर अन्य बाली लगाइसकेको अवस्था थियो’, उनले भने, ‘अहिले किसानहरु पुनः अलैँची खेतीमा जुटेका छन् । अलैँचीको विरुवा उत्पादन गर्नका लागि नर्सरी स्थापना गरेर नयाँ बिरुवा उत्पादन गर्ने काम भैरहेको छ ।’

अजिरकोटले राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाईसँग समन्वय गरेर किसानहरुलाई अलैँची खेती विकास तथा बिस्तार बारे सचेतना गराउँदै आएको उनको भनाइ छ । बहुमूल्य हुने भएकाले किसानहरु अलैचीलाई कालो सुन भनेर पनि चिन्छन् । मुलुकभर यसको आकर्षण बढ्दै गएपछि गोरखाको अजीरकोट गाउँपालिकाको हंशपुर र थालाजुङ क्षेत्रमा ३० बर्षअघिदेखि किसानहरुले अलैचीखेती गर्न सुरु गरेका थिए ।

२०५० को दशकदेखि सुरु गरिएको अलैँचीखेती केही वर्ष यता किसानहरुले छाड्दै गएका थिए । किसानी गर्नेको संख्या घट्दो क्रममा, बसाइँ सराइ बढ्दो क्रममा रहेको तथा अलैँची रोगाउँदै गएको र भाउमा पनि भारी गिरावट आउन थालेपछि किसानले अलैँची मासेको अजिरकोट गाउँपालिका–३ भच्चेकका कृष्णजंग घिमिरेले बताए । केही वर्ष यता अलैँचीको भाउ ह्वात्तै घटेको र गवारो लगायतका रोगले बाली नष्ट गरेकाले अलैची खेती गर्न छाड्दै गएको उनले जानकारी दिए ।

घिमिरेले पालिकाको वडा नं ३ लप्सीबोटको डेढसय रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका थिए । २०७३ सालबाट अलैँचीको व्यवसायिक खेती सुरु गरेका घिमिरे दुई–तीनवर्ष यता अलैँची मासिँदै गएको बताउँछन् । ‘८–९ वर्ष त मज्जाले उत्पादन भयो, भाउ पनि राम्रो थियो । म आँफैले किलोको २६ सय रुपैँयामा बेचेको हँ’, उनले भने, ‘केही वर्षसम्म वार्षिक ७ क्वीन्टलसम्म उत्पादन गर्थेँ । अहिले त अलैँचीको भाउ पनि घट्दै गयो । बालीलाई पनि किराले खायो ।’

केही समय अलैँचीको मूल्य घटेर किलोको पाँच सय रुपैँयासम्म पुगेकोमा अहिले मूल्यबृद्धि भएको घिमिरेले जानकारी दिए । उनले भने, ‘अहिले किलोको २२ सय रुपैैँया कायम भएको छ । मूल्य बढ्ने क्रममा छ ।’ अलैँचीले मूल्य पाउन थालेपनि किसानहरु पुनः अलैँची खेतीमा आवद्ध हुन थालेको उनले बताएका छन् ।

पालिकाले समेत अलैँची खेतीमा सहयोग गर्दै आएको उनको भनाई छ । खरिबोट र हंशपुरमा २०३५, २०३६ सालदेखि अलैँची खेतीले प्रवेश गरेको हो । आजभन्दा १० बर्षअघिसम्म यहाँ अलैँचीको व्यवसाय चरम उत्कर्षमा पुगेको थियो । तर त्यसयता विस्तारै ओह्रालो लाग्दै गएको अलैँची खेती पुनः उकालो लागेको अर्का अलैची किसान गोपीमाया गुरुङले बताइन् ।

‘दुई–चारवर्ष यता अलैँचीको भाउ पनि घटेको, रोग किरा पनि लागेको अवस्था थियो । पहिल मूल्य आउँदा सबैजनाले अलैँची खेती गरेकोमा पछि रोग लागेपछि सबैले मासेका थिए’, उनले भनिन्, ‘व्यवसायी रुपमा खेती गर्दै आएकाहरुले अहिले पुन बगैँचा व्यस्थापन र नयाँ बिरुवा उत्पादनमा जुटेका छन् ।’

प्रतिक्रिया दिनुहोस्