
अर्थमन्त्री र डिआईजीद्वारा गोरखाको निर्वाचन तयारीबारे अनुगमन
अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीले गोरखाको निर्वाचनको तयारीको पछिल्लो अबस्थाबारे अनुगमन भ्रमण गरेका छन् । मंगलबार दिउसो छुट्टाछुट्टै गोरखा आइपुगेका मन्त्री खनाल र डिआइजी जिसीले जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रवन्धका बारेमा अध्ययन, अनुगमन भ्रमण तथा छलफल गरेका हुन् ।
अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा पुगी बस्तुगत अध्ययन तथा छलफल गरेका छन् । ‘मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयको अनुगमन भ्रमण गरेर जिल्ला प्रशासन कार्यालयमा आउनु भएको थियो’, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने, ‘हामीले हालसम्म भए गरेका प्रगतिका विवरण सबै सुनायौँ । उहाँले सोचेभन्दा धेरै प्रगति भएको रहेछ भन्ने प्रतिक्रिया दिएर जानुभयो ।’
यसअघि मन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको अनुगमन भ्रमण गरेका थिए । सो क्रममा ती दुबै कार्यालयले निर्वाचन आयोगले निर्धारण गरेअनुसारका सबै प्रक्रिया, सबै चरणहरु पूरा भइसकेको जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए । ‘उहाँले निर्वाचन सभ्य, भव्य, निस्पक्ष, भयरहित ढंगले सबैको सरसहयोगको खाँचो रहेकाले सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन दिनुभयो’, कोइरालाले भने ।
गोरखाको भ्रमण सकेर अर्थमन्त्री खनाल तनहूँ, लम्जुङ हुदै म्याग्दीसम्म जाने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । त्यस्तै डिआईजी जिसीले जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय आरुघाट र इप्रका ठाँटीपोखरीको अनुगमन गरेका छन् ।
सो अवसरमा निर्वाचन सुरक्षा चुनौति तथा सुरक्षाकर्मी परिचालन प्रवन्धको अबस्था बारे सोधपुछ गरेका थिए । साथै जटिल भौगोलिक अवस्थितिमा अपनाउन सकिने सुरक्षा बस्तुस्थितिबारे पनि सोधपुछ गरेका थिए । जिल्ला प्रहरी कार्यालयले सो विषयमा जानकारी गराएपछि डिआईजी जिसीले सुरक्षा व्यवस्थाप्रति सन्तोषजनक रहेको टिप्पणी गर्दै आगामि फागुन २१ गते हुने चुनाव स्वच्छ, निस्पक्ष, भयरहित बनाउन उच्च मनोबलका साथ का मगर्न निर्देशन दिएका एसपी भरत बिकले जानकारी दिए ।




