| आइतवार, कार्तिक २२, २०८३

खोर्लाबेशी मेलाको जुवामा कसैले जिते नौलाख, कसैले हारे १८ लाख

धार्चे ३ खोर्लावेशीमा गत माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार समापन भएको छ । मितिनी मेला भनेर पनि चिनिने सो मेलामा यस बर्षको मेलामा विभिन्न ठाउँबाट आएका २० जोडीले मित लगाएका छन् । जिल्लाकै सबैभन्दा धेरै जुवा खेलिने मेला भनेर चिनिने सो मेलामा यसबर्ष पनि ठूलो परिमाणको जुवाको जित–हार भएको छ ।

अजिरकोट ३ भच्चेक बजारबाट जुवा खेल्न गएका दुई जुवाडेमध्य एक जनाले सो मेलाको जुवा खालमा १८ लाख हारेर फर्केका छन् । त्यस्तै अर्का एकजनाले १५ लाख हारेर फर्केका मेलाका एक अवलोकनकर्ताले जानकारी दिए । त्यस्तै सिर्दिबासका अर्का एकजनाले भने नौलाख जितेर फर्केका छन् ।

मेलामा १० भन्दा धेरै खाल जुवा खेलिएको थियो । मेलामा जुवा खेल्न नदिने प्रहरी प्रशासनको अन्तिमसम्मको प्रयास असफल भएको थियो । धार्चेमा हुने हरेक मेला जुवामय हुने गरेको भन्दै स्थानीय पिडितहरुले नै बिरोध गरेका छन् । पुरानो पिँडीका जात्रुहरुले जुवा खेलिदिँदा नयाँ युवा पुस्ता पनि स्वतः जुवाको लतमा फँस्दै गएको भन्दै स्थानीयले चिन्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्