| सोमवार, कार्तिक २३, २०८३

गोरखामा मत बदरको सम्भावना कायमै, मतदाता शिक्षा कार्यक्रम आवश्यक

गोरखामा प्रत्येक निर्वाचनमा मत बदरको दर बढ्दो क्रममा छ । पटक–पटक निर्वाचन भईरहँदा पनि दुर्गम ग्रामीण भेगका मतदातामा भने अझै मतदाता शिक्षाको अभाव छ । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेकोमा ६० हजार दुईसय ८२ मत खसेको थियो ।

जसमध्ये प्रत्यक्षतर्फ तीन हजार ५१ अर्थात ५.०६ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।प्रतिनिधिसभाको समानुपातिकतर्फ गोरखा क्षेत्र नम्बर १ मा तीन हजार पाँचसय ८१ मत अर्थात खसेको मतको ५.९ प्रतिशत बदर भएको थियो । उक्त निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा धेरै मत बदर भएको थियो ।

२०७९ को चुनावमा गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभामा पनि प्रत्यक्ष र समानुपातिकतर्फ धेरै मत बदर भएको थियो । गोरखा क्षेत्र नं २ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कुल एकलाख पाँचहजार दुईसय ४० मतदाता रहेकोमा जम्मा ५४ हजार ४४ मत खसेको थियो । तीमध्ये तीन हजार एकसय २६ मत अर्थात ५.७८ प्रतिशत मत बदर भएको थियो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ गोरखा क्षेत्र नं २ मा दुई हजार नौ सय ५९ मत अर्थात खसेको मतको ५.४ प्रतिशत बदर भएको थियो । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ धेरै मत बदर भएका छन् । २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नं १ मा ६३ हजार छ सय चार मत खसेको थियो । जसमध्ये चार हजार तीन सय २० मत अर्थात खसेको मतको ६.७९ प्रतिशत बदर भएको जिल्ला निर्वाचन कार्यालय गोरखाको तथ्याङकमा उल्लेख छ ।

यसैगरी गोरखा क्षेत्र नं २ मा ६० हजार एक सय १५ मत खसेको थियो । जसमध्ये २ हजार ६ सय ३६ मत अर्थात खसेको मतको ४.३८ प्रतिशत मत बदर भएको अभिलेखमा उल्लेख छ । गोरखामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा बदर मतको संख्या दोहोरिने गरेको छ । निर्वाचन आयोगले यसपटकको प्रतिनिधि सभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम नल्याएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला बताउँछन् ।

२०७४ सालमा र २०७९ को निर्वाचनमा बदर मतको संख्यामा अन्तर छैन । २०७९ को निर्वाचनमा मत नै कम खसेका बेलापनि बदर दर भने पहिले भन्दा धेरै छ । गोरखामा एकभन्दा धेरै निर्वाचन चिन्हमा छाप लगाएका कारण बदर भएको संख्या धेरै हुने गरेको छ । मतपत्रमा ल्याप्चे लगाउने, स्वस्तिक छाप नलगाई मतपत्र खसाल्ने गर्दा धेरै मतपत्र बदर भएको देखिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी नबनाउँदा मत बदरको संख्या बढेको देखिन्छ ।

यही फागुन २१ गने हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ–नयाँ दलहरु पनि थपिएकाले मतदाताहरु झुक्किन सक्ने सम्भावना बढेको जिल्लाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका वडाअध्यक्ष टासी दोर्जे लामाले बताए । उनले भने, ‘भोट हाल्ने प्रक्रिया अलि अप्ठेरो नै छ । शहरी क्षेत्रको मान्छेहरु त झुक्किन्छन्, झनै हाम्रो गाउँका बासिन्दाहरु झुक्किनि नै भए ।’

उनका अनुसार विषेशगरी हिमाली क्षेत्रका मतदाताहरु मतदानबारे अनविज्ञ छन् । निर्वाचन आयोगले विकट क्षेत्रहरुमा मतदाता शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने माग लामाको छ ।

प्रतिक्रिया दिनुहोस्