| सोमवार, कार्तिक २३, २०८३

हिमाली भेगको नाम्रुङ मतदान केन्द्रमा जम्मा ८७ मतदाता

प्रतिक्षा आले ।
जिल्लाको हिमाली भेगमा मतदाताको सङख्या न्युन रहेको छ । उत्तरी गोरखाको नाम्रुङस्थित लार्केबजार स्वास्थ्यचौकी मतदान केन्द्रमा जिल्लाकै सबैभन्दा कम जम्मा ८७ मतदाता रहेका छन् । चुमनुब्री गाउँपालिका–४ नामरुङ स्वास्थ्य चौकीमा कायम गरिएको सो मतदान केन्द्रमा ७९ सालको निर्वाचनमा ८२ जना मात्र मतदाता रहेका थिए । जिल्लाको सबैभन्दा थोरै मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

यहाँ बिहान नौ बजे नै मतदान सकिने गरेको थियो । सडक सञ्जालले नछोएको यस क्षेत्र पुग्न सदरमुकामबाट तीन दिन पैदल हिँड्नुपर्छ । चुमनुब्री गाउँपालिका–४ कै क्वाक आधारभुत विद्यालय मतदान केन्द्रमा गत निर्वाचनको भन्दा एक मतदाता संख्या बढेर १०० जनाको नामावली रहेको छ । सोही वडाको छाकस्थित हिमचुली आभारभुत विद्यालय मतदान केन्द्रको मतदाता सङख्या १११ रहेको छ ।

चुमनुब्री गाउँपालिका १ साम्दो आधारभुत विद्यालय साम्दोमा १०४ जना मतदाता छन् । यहाँ अघिल्लो निर्वाचनमा ९८ मतदाता रहेका थिए । दुर्गम भेग भएकाले यहाँ मतदाता संख्या कम रहेको हो । यहाँसम्म पुग्न तीन दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।
जिल्लाको ३२१ मतदान केन्द्रमध्ये सबैभन्दा कम मतदाता हिमालपारिका गाउँहरुमा रहेका छन् । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को वौद्धहिमाली आधारभूत विद्यालय न्याकमा १३७ मतदाता छन् भने सोही वडाको श्रीङगी हिमाल आधारभुत विद्यालयमा जगतमा १९६ मतदाता रहेका छन् ।

यस अघिका चुनावमा पनि कम मतदाता संख्या रहेका यी केन्द्रमा १२ बजेभन्दा अगाडि नै मतदान सकिन्थ्यो । चुमनुब्री तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको दुर्गम पालिका हो । यहाँ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन ।
यहाँ पालिकाभर २३ वटा मतदान केन्द्र रहेका छन् भने जम्मा पाँच हजार दुई सय ४४ मतदाता छन् । पालिकाको वडा नम्बर १ मा चारसय ५७, वडा नं २ मा पाँच सय ६९, ३ नं वडामा सबैभन्दा धेरै एकहजार सात सय ४६ मतदाता छन् । वडा नं ४ मा चारसय ८५, ५ मा चार सय ४७, वडा नम्बर ६ छसय २५ र वडा नम्बर ७ मा नौ सय दुई मतदाता छन् ।

जिल्लाका सबैभन्दा धेरै मतदाता भीमसेनथापा गाउँपालिकाको विन्द्रावति मावि मसेल केन्द्रमा दुई हजार ९२९ जना छन् ।
गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकामा ३७ हजार ६ सय ६८, पालुङटारमा ३४ हजार चार सय १३ मतदाता छन् । यस्तै, जिल्लाको सहिदलखन गाउँपालिकामा २५ हजार दुई सय ३१ मतदाता छन् भने अन्यमा २५ हजार भन्दा कम छन् ।
जिल्लामा २२५ वटा मतदान स्थलहरु तथा ३२१ वटा मतदान केन्द्र कायम भएको छ । जिल्लाको अतिसंवेदनशील मतदान केन्द्रको सङख्या ८२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्